• गृहपृष्ठ /
  • Breaking News ,
  • उद्योग/ कर्पोरेट ,
  • मुख्य खबर ,
  • समाचार

म्याद नाघेको खाद्य सामाग्री बेच्ने बिशाल ग्रुपको वेभसाइट बन्द

व्यापारिक घराना विशाल ग्रुपले आफ्नो आधिकारिक वेभसाइट बन्द गरेको छ । आइतबार साँझसम्म सञ्चालनमा रहेको विशाल ग्रुपको वेबसाइट सोमबार बिहानैदेखि बन्द भएको छ । मंगलबारसम्म पनि सो वेभसाइट खुलेको छैन । बेभसाइटमा अन्डरमेन्टिनेन्स भनेर उल्लेख गरेपनि बिशाल ग्रुप निकट स्रोतकाअनुसार आफ्ना सूचना र आयान डिस्ट्रिब्युटर्ससँगको सम्बन्ध थाहा पाउने भएकाले वेभसाइट बन्द गरिएको हो ।

म्याद नाघेका चक्लेट, फुड सप्लिमेन्ट, पौष्टिक आहार, बिस्कुट आदिमा नयाँ लेबल लगाएर बजारमा पठाइरहेको आयान डिस्ट्रिब्युटर्स, अमेजन डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग विशाल ग्रुपको सम्बन्ध पुष्टि हुने जानकारी भएका वेभसाइट सबै बन्द भएको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले असोज १५ मा विशाल गु्रपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा लगायतका म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला पारेको थियो ।

वाणिज्य विभागले पनि विशाल ग्रुप अन्तर्गतको आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारी आयान डिस्ट्रिब्युटर्सका म्यानेजर रोनक बोथ्रालाई पक्राउ गरेयताको दैनिक अनुगमन विवरण अद्यावधिक गर्न छोडेको छ भने कारबाही विवरणको पनि अभिलेख राखिएको छैन ।

आइतबार विशाल ग्रुपले विज्ञप्ति जारी गर्दै आयान डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको थियो । विशाल समूह अन्तर्गतको कमला रोलिङ मिल्सद्वारा उत्पादित फलामे छड गुणस्तरहीन पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले मिल्समाथि कारबाही गरेको थियो । मिल्सले वर्षौदेखि गुणस्तरहिन छड उत्पादन गर्दै आएको भन्दै विभागले तीन महिनाका लागि इजाजतपत्र रद्द गरेको थियो ।

प्रतिक्रिया