युवकमाथि लात्ती बर्साउने प्रहरी अधिकृत निलम्बित

चितवन: चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनामा संलग्न प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो। घटना सार्वजनिक भएपछि चितवन प्रहरीले छानबिनको प्रक्रिया अगाडि बढाएको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशभरबाट व्यापक आलोचना भएको थियो। पुस १५ गते राति भरतपुरस्थित बाइपास रोडमा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेलले युवकलाई निर्घात कुटपिट गरेको भिडियो एक फेसबुक प्रयोगकर्ताले पोस्ट गरेका थिए।

घटनाबारे छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा भुजेलले "फोन गर्ने?" र "माथिको पावर देखाउने?" भन्दै युवकलाई लात्ती बर्साएको खुलेको छ।

मोटरसाइकल रोकेर चेकजाँच गरिरहेकै समयमा युवकमाथि निरन्तर लात्ती प्रहार गरेको र उनलाई बिजुलीको पोल छेउमा ढालेर थप कुटपिट गरेको भिडियोले प्रहरीको व्यवहारप्रति प्रश्न उठाएको छ।

एसपी मिश्रले घटनाबारे अनुसन्धान अघि बढिसकेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया लागू गरिने बताएका छन्।

प्रतिक्रिया