पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक इन्धन डिपो तयार

पोखरा — नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रमा अत्याधुनिक हवाई इन्धन भण्डारण डिपो निर्माण सम्पन्न गरेको छ। ३ हजार ६ सय किलोलिटर क्षमताका १२ मिटर उचाइ र १२ मिटर व्यास भएका तीनवटा ट्याङ्की, १२ इन्च व्यासको हाइड्रान्ट रिफ्युलिङ पाइपलाइन, नियन्त्रण कक्ष, अफिस भवन र फायर फाइटिङ सिस्टमसहित यो डिपो भ्याटबाहेक करिब ७५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो।

यो डिपो विशेषतः स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र स्वदेशी ठेकेदारको प्रयोगबाट पहिलोपटक निर्माण भएको हो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुलचोक इन्जिनियरिङ संस्थानले तयार पारेको थियो भने निर्माणसम्बन्धी सम्पूर्ण कार्य नेपाली कम्पनीले नै सम्पन्न गरेको हो। इन्डियन आयल कर्पोरेसनको प्रविधिक सहयोगबिना पहिलोपटक स्वदेशी प्रयासमा निर्मित डिपो भएकाले यसको ऐतिहासिक महत्व रहेको परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए। यादव सिनामंगलस्थित हवाई इन्धन डिपोका पनि प्रमुख हुन्।

नयाँ डिपो निर्माणपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बढ्दै गइरहेका अवस्थामा इन्धन आपूर्तिमा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ। डिपो ३२,९१५ वर्गमिटर क्षेत्रफलमा विमानस्थलको भाडामा लिएको जग्गामा निर्माण गरिएको हो। डिपोमा अग्निनियन्त्रणको लागि आधुनिक स्वचालित प्रणाली जडान गरिएको छ, जसले आगलागी भएमा पानीको फोहोरा प्रयोग गरी तत्काल नियन्त्रणमा लिनेछ।

डिपो निर्माणको प्रक्रिया २०७५ सालमा प्रारम्भ भए तापनि प्रशासनिक ढिलाइका कारण समय लिएको थियो। तर, निर्धारित समयमै निर्माण कार्य सम्पन्न भएको छ। तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले २०८० साउन ९ गते शिलान्यास गरेका थिए। पुलचोक इन्जिनियरिङ संस्थानका सहायक डिन डा. सुरज लामिछानेले सतप्रतिशत स्वदेशी विज्ञ र लगानीमार्फत निर्माण सम्पन्न भएको जानकारी दिए।

निगमका अधिकारीका अनुसार, अब डिपोको परीक्षण र अन्तिम प्राविधिक प्रमाणीकरण पश्चात छिट्टै सञ्चालनमा ल्याइनेछ। यो डिपो सञ्चालनमा आएपछि पोखरामा दैनिक १८ देखि २२ हजार लिटर इन्धन खपतलाई सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ। हालसम्म पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको भण्डारण मात्रै रहेको थियो, जसबाट बाउजरमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन आपूर्ति हुँदै आएको थियो।

नयाँ डिपोको आगमनसँगै विमान इन्धन आपूर्तिमा दक्षता र क्षमता वृद्धि हुने विश्वास लिइएको छ, जसले पोखरा विमानस्थलको उडान सेवा थप व्यवस्थित र सुरक्षित बनाउनेछ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय