सर्वोच्च अदालतका न्यायाधीसहरु होम आइसोलेसनमा

सर्वोच्च अदालतमा एकजना न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबार इजलास प्रभावित भएको छ । सर्वोच्च अदालतका सह-प्रवक्ता देवेन्द्र ढकालका अनुसार सबै न्यायाधीशहरु आइसोलेसनमा बसेका छन् ।

दैनिक ८/९ वटा इजलास तोकिनेमा कोरोनाको संक्रमणपछि सतर्कता अपनाउन भन्दै आज एउटा मात्र इजलास तोकिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा मात्र पेसी तोकिएको छ ।

सर्वोच्च अदालतले केहीबेर अघि सूचना जारी गर्दै न्यायाधीशहरुलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएको र त्यसबाट प्रभावित न्यायाधीशहरु तथा कर्मचारीहरु होम क्‍वारेन्टाइनमा रहेको जानकारी गराएको छ ।

सक्रिय संक्रमित एकजना रहेको सर्वोचच अदालत स्रोतले जनाएको छ । गत बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेको थियो । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित १७ न्यायाधीश सहभागी थिए । बैठकमा सहभागी एक न्यायाधीशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

कोरोना महामारी सुरु भएपछि सर्वोचच अदालतमा लामो समय विशेष प्रकृतिका मुद्दामा मात्र सुनुवाइ गरिएको थियो । लकडाउन खुकुलो बनाइपछि भने सर्वोच्चमा पनि सबै इजलास बस्‍न थालेको थियो । सर्वोच्चकै न्यायाधीश र अधिकृतमा कोरोना संक्रमण देखिएपछि पुनः न्याय सेवा प्रवाह कटौती हुने भएको छ ।

प्रतिक्रिया