अफताव प्रकरण : इँटाभट्टाका हेड मिस्त्री बद्री सहनी पक्राउ

नेपाली कांग्रेसका नेता अफताव आलमसँग मिलेर रौतहटमा १२ जनाभन्दा धेरैलाई जिउँदै जलाएको आरोप लागेका अभियुक्त बद्री सहनी पक्राउ परेका छन् । उनी इँटाभट्टाका हेड मिस्त्री हुन् ।

बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ रौतहट बौधीमाई नगरपालिका ७ स्थित नेपाल भारत सीमाबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले पक्राउ गरेको उनको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानमा ५५ वर्षीय वसहनीले घाइते तथा मृतकलाई इँटाभट्टामा हालेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

०६४ साल चैत २७ गते रौतहटको फरदहवा ४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो । उक्त विस्फोटमा तीनजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । उक्त विस्फोटका घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो ।

घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले जाहेरी दिएपछि प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता आलमलाई पक्राउ गरेको थियो । अफताव पुर्पक्षका लागि कारागारमा छन् ।

प्रतिक्रिया