ओलीको एकलौटी निर्णय, दाहाल असन्तुष्ट

काठमाडौं । पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६८ औं बैठकको भावनाविपरीत एकलौटी निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।

“कूटनीति मामिलासँग गाँसिएको राजदूत सिफारिसजस्तो निर्णय पनि पार्टीमा छलफल भएको छैन । फेरि जसजसलाई सिफारिस गरिएको छ, मापदण्ड विपरीत छ । त्यसरी निर्णय गर्ने भनेर पार्टीले भनेको छैन । बैठकको निर्णय पनि यो होइन । केपी ओली फर्किएर पुरानै ठाउँमा पुग्नुभयो,” ती नेताले भने ।
दाहाल निकट एक नेताका अनुसार ओलीको निर्णयप्रति दाहाल असन्तुष्ट छन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत कुरा उठे पनि राजदूत, संवैधानिक नियुक्तिका विषयमा केही पनि कुरा नभएको उनले बताए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा छलफल नभएको बताए । “राजदूत सिफारिसबारे छलफल भएको छैन । केके निर्णय भए त्यो पनि बुझ्न पाएको छैन,” उनले भने ।

प्रतिक्रिया