विराटनगरमा निजी अस्पतालबाट पीसीआर जाँच सुरु

विराटनगरमा पहिलोपटक निजी अस्पतालबाट कोभिड १९ को परीक्षण शुरु भएको छ ।

लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्दै आएको प्रदेश राजधानीको न्युरो अस्पतालले पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु गरेको हो ।

अस्पतालका अनुसार नेपाल सरकारको अनुमतिमा प्रदशमै पहिलोपटक निजीस्तरबाट अत्याधुनिक ल्याबबाट कोरोना परीक्षण सुरु गरिएको जनाएको छ । न्युरो हस्पिटलद्वारा सञ्‍चालित कोभिड अस्पतालमा आरटी पीसीआर ल्याब सञ्‍चालनमा आएको हो ।

यो ल्याबमा दैनिक हजारभन्दा धेरै नमुना परीक्षण गर्न सकिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । उनले भने, “अस्पतालमै आई नमुना दिने अथवा स्वाबको घरबाटै संकलन गर्न (होम सेम्पलेङ) को व्यवस्था गरिएको छ ।”

अस्पतालले सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरी लक्षणसहितका कोरोना संक्रमितको उपचारको व्यवस्थासमेत मिलाएको छ ।

प्रतिक्रिया