मुलुकका विभिन्न स्थानमा भारी वर्षा, शुक्रबारसम्म सतर्क रहन आह्वान

काठमाडौँ- रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ ।

कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्षा भएको केन्द्रले जनाएको छ ।

ती क्षेत्रमा अझै वर्षा जारी रहेकाले साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार अहिले पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश- १, प्रदेश- २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश- ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ।

यसपालिको मनसुन सेप्टेम्बर २३ अर्थात् आज नै सकिने आकलन गरिए पनि यो अझै केही दिन लम्बिने मौसमविद्ले जनाएका छन् ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने जानकारी दिए ।

‘देशका धेरै जसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रमम तीन दिनसम्म नै रहन्छ । कतिपय स्थानमा झरी नै पर्छ’, अर्यालले भने ।

मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन नसकेको मौसविद्ले जनाएका छन् ।

आजदेखि मनसुनी प्रभाव मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने भएकाले उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् ।

यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

बाढी पहिरोबाट वैशाखयता ३७५ को मृत्यु, १०० बेपत्ता र ४२० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ वेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया