काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन्। विश्व अङ्गदान दिवसको अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा यो विषयलाई समेटिएको जानकारी दिए।
मन्त्री पौडेलले सबै प्रदेशमा यो केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गरिने र तत्काल कोसी प्रदेशबाट काम थालिने बताए। उनका अनुसार, भक्तपुरमा रहेको केन्द्रले मात्र देशभर सेवा दिन नसक्ने भएकाले सातै प्रदेशमा उपकेन्द्र स्थापना गर्ने तयारी भइरहेको छ।
कार्यक्रममा मन्त्री पौडेलले अङ्गदानलाई जीवनदान भन्दै यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। उनले कार्यक्रममा अङ्गदातालाई सम्मान गर्दै आफूले पनि अङ्गदान गर्ने घोषणा गरे।