श्राद्धको महिमा

पूर्णानन्द ओझा, डोटी—————————————————————————————————
परिभाषा – ‘श्रद्धया पितृृन् उद्दिश्य विधिना क्रियते यत्कर्म तत् श्राद्धम्’ अर्थात् आफ्ना पितृहरूको उद्देश्य लिएर श्रद्धापूर्वक गरिने कर्मविशेषलाई श्राद्ध भनिन्छ । यसलाई पितृयज्ञ पनि भन्दछन् । विभिन्न पुराण, मनुस्मृति आदि धर्मशास्त्र तथा वीरमित्रोदय, श्राद्धकल्पलता, श्राद्धतत्व, पितृदयिता जस्ता अनेक धार्मिक ग्रन्थहरूमा अत्यन्त गहन तरिकाले श्राद्धको महिमा बताइएको छ । ‘योऽनेन विधिना श्राद्धं कुर्याद् वै शान्तमानसः..।’ भनेर कूर्मपुराणमा जो विधिपूर्वक शान्त भएर श्राद्ध गर्छ ऊ सबै सांसारिक दुःखबाट मुक्ति पाउँछ भनिएको छ । ‘आयुः पुत्रान् यशः स्वर्गं कीर्तिं पुष्टिं बलं श्रियम् । पशून् सौख्यं धनं धान्यं प्राप्नुयात् पितृपूजनात् ।’ अर्थात् श्राद्ध गर्नाले आयु बढ्छ, सन्तान प्राप्त हुन्छ, धनधान्य बढ्छ, शरीरमा बल तथा पुरुषताको सञ्चार हुन्छ, श्रद्धा बढ्छ साथै मान र कीर्ति पनि फैलिएर सुख आदि कुरा श्राद्ध गर्नाले प्राप्त हुन्छन् भनी गरुडपुराण र यमस्मृतिमा बताइएको छ । यसरी श्रद्धापूर्वक आफ्ना पूर्वजलाई सम्झिएर पछिल्लो सन्ततिमा समेत श्रद्धाको भावना बढाउने कार्य श्राद्ध रहेछ ।

श्राद्धका प्रकार र श्राद्धकाल – शास्त्रहरूमा श्राद्धका विभिन्न प्रकारका बारेमा चर्चा पाइन्छ । मुख्य गरी श्राद्ध तीन प्रकारका छन्, – नित्य, नैमित्तिक र काम्य । यमस्मृतिमा पाँच प्रकारका श्राद्ध बताइएको छ, ः नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण । यसै गरी भविष्यपुराणमा १२ प्रकारका श्राद्धका बारेमा भनिएको छ, ती हुन् – नित्य, नैमित्तिक, काम्य, वृद्धि, पार्वण, सपिण्डन, गोष्ठी, शुध्यर्थ, कर्माङ्ग, दैविक, यात्रार्थ र पुष्ट्यर्थ । जहाँ जति बताइए पनि उपर्युक्त पाँच प्रकारमा सबै किसिमका श्राद्धको मर्म समेटिने हुनाले यिनै पाँच प्रकारहरू बढी प्रचलित छन् ।

श्राद्ध कहिले गर्ने भन्ने जिज्ञासा र समय मिलाउनु पर्ने खाँचो अहिलेको पुस्तामा विशेषतः देखिएको छ । यस विषयमा पनि विभिन्न धर्मशास्त्रले विविध किसिमका श्राद्धका अवसरहरूका बारेमा बताएको छ । वेदका छ अङ्गहरू – शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषशास्त्रमध्ये प्रमुख अङ्ग अर्थात् ज्योतिषशास्त्रले विविध धर्म–कर्मको फल समयअनुसार धेरै, थोरै मिल्ने बताएको छ । त्यस्तै कल्पशास्त्रअन्तर्गतका श्रौतसूत्र, गृहसूत्र, धर्मसूत्र आदिमा विविध संस्कारिक तथा धार्मिक कार्य कसरी र कहिले गर्ने भन्ने कुरा सिकाइएको छ । हुनत यी धर्मशास्त्रहरूले नित्य पञ्चमहायज्ञ(देवयज्ञ, भूतयज्ञ, पितृयज्ञ, मनुष्ययज्ञ, ब्रह्मयज्ञ) गर्नुृपर्ने कुरा बताएका छन् तापनि विधिवत् श्राद्धका अवसर भनेर धर्मसिन्धुमा कुल ९६ओटा बताइएको छ, यथा –
अमायुगमनुक्रान्तिधृतिपातमहालयाः ।
अष्टकाऽन्वष्टका पूर्वेद्युः श्राद्धैनवतिश्च षट् ।।

अर्थात् १२ अमावस्या, ४ युगादि तिथि, १४ मन्वादि तिथि, १२ सङ्क्रान्ति, १२ वैधृतियोग, १२ व्यतिपातयोग, १५ महालयश्राद्ध, ५ अष्टकाश्राद्ध, ५ अन्वष्टकाश्राद्ध र ५ पूर्वेद्युः गरी जम्मा ९६ श्राद्धका अवसर हुन्, अवश्य गर्नुपर्छ भनिएको छ । यी अवसरहरू पारेर सधैँ सम्भव नभए तापनि पितृको पुण्यतिथि पर्दा, तीर्थाटन गर्दा, अन्य यज्ञ गर्दा र पितृको पर्व अर्थात् आश्विन कृष्ण(पितृ)पक्ष पर्दा भने यथाशक्ति श्राद्ध गरेर आफ्ना पूर्खाप्रति सम्मान गर्ने संस्कार केही मात्रामा भएपनि बाँचेकै देखिन्छ । कोही अन्य कार्यको समय मिल्दैन भनेर, कोही गर्न झण्जटिलो ठानेर, कसैले नबुझेर यी र यस्ता श्राद्धका अवसर छुटाएको पाइन्छ ।

श्राद्ध नगर्दा हानि – शास्त्रमा मरणोपरान्त श्राद्धादि कर्मले नै पितृको आत्मा तृप्त हुने र आशीर्वाद मिल्ने अन्यथा हानि हुने कुरा उल्लेख छ । स्कन्दपुराणको श्राद्धकल्पमा पनि श्राद्धको आवश्यकताका बारे चर्चा गरिएको छ । महालय अर्थात् पार्वणश्राद्ध अनिवार्य गर्नुपर्छ नगरे हानि हुने कुरा बताइएको छ । तै.उपनिषदमा पनि प्रमादबिना देव र पितृकार्य गर्नुपर्छ अन्यथा उल्टै हानि हुने कुरा बताइएको छ ।
कन्यागतश्राद्ध – सूर्ये कन्यागते श्राद्धं यो नकर्याद् गृहाश्रमी । धनं पुत्राः कुतस्तस्य पितृनिश्वासपीडनात् ।।

अर्थात् कन्यागत सूर्य भएका बेला जसले श्राद्ध गर्दैन, निर्धन, अपुत्री भई पितृले पीडा दिन्छन् भनेर धर्मसिन्धुले भनेको छ । हुनत माथि उल्लेख गरिएका श्राद्धका अवसरहरूमध्ये १२ सङ्क्रान्तिहरूमा असोजको सङ्क्रान्ति पनि पर्ने नै भयो तथापि धेरैले विश्वकर्माको उत्सवमा श्राद्ध नगर्ने चलन चलाएकाले यो विषय आज सबैको सोधनी बनेको छ र धेरै उक्त श्राद्धबाट बञ्चित पनि बनेका छन् । यस वर्ष त अझ राम्रो श्राद्धको अवसर त्यो दिन जुटेको छ । किनभने कन्यागत सूर्य र औँसी, त्यो पनि पितृपक्षको औँसीसँगै परेको पुण्यकाल छ, अवश्य गर्नुपर्छ । यद्यपि यहाँ कन्यागत सूर्यको अर्थ पितृपक्ष अर्थात् आश्विन कृष्णपक्षमा कन्यागत सूर्य भएका बखतमा भनेर १५वटै महालयश्राद्धलाई लिइएको हुनसक्छ तथापि प्राय पितृपक्षमा सूर्य कन्यागत हुने भएकाले त्यसको प्रतीकका रूपमा उपर्युक्त उद्धरण आएको हुनसक्दछ ।

मघाश्राद्ध – श्राद्ध गर्ने विविध अवसरहरूमध्ये मघादि नक्षत्र, वैधृति, व्यतिपातादि योय पनि पितृकार्यका लागि राम्रा अवसर हुन्, जसमध्ये मघानक्षत्रको सम्बन्ध पितृसन्निकट भएकाले मघानक्षत्र त्यो पनि पितृपक्षका बेला श्राद्ध गरियो भने श्रेष्ठ सन्तति हुने कामनाले यो श्राद्ध गरिन्छ । ‘पायसम्मधुसर्पिभ्यां वर्षासु च मघासु च’ भनेर यसमा पिण्डदान र ब्राह्मणभोजनलाई अनिवार्यता दिइएको छैन तापनि तीर्थमा वा घरमै यसको अवसर पारेर श्राद्ध गर्न सकिन्छ । तर शास्त्रीयमान्यता विपरीत मघा नक्षत्र भएका दिन आफ्ना पितृका तिथिश्राद्ध नै छोड्नु अज्ञान नभई मूर्खता मात्र हुन जान्छ । महालयश्राद्ध तिथिसँग सम्बन्धित छ भने मघाश्राद्ध नक्षत्रसँग । त्यसकारण सकेसम्म बुझेर आफ्ना पितृश्राद्धको राम्रो अवसर छुटाउनु राम्रो होइन । यसको अर्थ हो, मघानक्षत्र परे पनि त्यसले पार्वण वा अन्य श्राद्धलाई अबरोध गर्दैन ।

चतुर्दशीश्राद्ध – प्रेतपक्षे चतुर्दश्यामेकोद्दिष्ट विधानतः । दैवयुक्तन्तु यच्छ्राद्धं पितृणामक्षयं भवेत् ।। अर्थात् एकोद्दिष्ट तिथिमा वा पितृपक्षको चतुर्दशीमा पनि त्यही विधिले श्राद्ध गर्नु पितृको अक्षय तृप्ति हुन्छ । यसको अर्थ महालयमा अन्य पितृहरूको पनि गर्नुपर्ने र अकाल मृत्युवरण गरेकाको श्राद्ध गर्नु भन्ने वचन भएकाले पनि यस दिनको पार्वणश्राद्ध अन्य पर्वतिथि(अष्टमी,एकादशी,औँसी)मा गर्ने भनिएको हो । कहीँ कतै यसै दिनमा पनि गर्ने प्रचलन रहेकै छ ।

ब्रह्मकपाली (बदरीक्षेत्र)मा श्राद्ध गरेपछि किन छोड्ने ?
शिरः कपालं यत्रैतत्पपात ब्रह्मणः पुरा । तत्रैव बदरीक्षेत्रे पिण्डं दातुं प्रभुः पुमान् । मोहाद् गयायां दद्याद्यः सपितृन् पातयेत् स्वकान् । लभते च ततः शापं नारदैतन्मयोदितम् । अर्थात् बदरीक्षेत्र(ब्रह्मकपाली)मा पिण्ड दिइसकेपछि मोहवस् यदि गयादि ठाउँमा पुनः पिण्ड दिएमा त्यसले आफ्ना पितृलाई अधोगतिमा पार्दछ । यसको अर्थ गयादि तीर्थमा सबैभन्दा उत्तम तीर्थ बदरीक्षेत्र हो, त्यहाँ श्राद्ध गरिसकेपछि अन्य तीर्थमा तीर्थश्राद्ध नगर्दा हुन्छ भन्ने बुझिन्छ । यस विषयमा विद्वान्हरूका आआफ्ना धारणा हुन सक्लान् । तर यस तर्कलाई सुबिधायुक्त ठानी आफूअनुकूल प्रयोग गरेर समयमै तीर्थश्राद्ध गरेँ भनेर घरमा आएर त्यही पैतृक सम्पत्तिमा ठाँट गरी बस्नु अनि श्राद्ध चाहिँ नगर्नु कति सान्दर्भिक र मर्यादापूर्ण हुन्छ होला ।
मावलीको श्राद्ध – पितरो यत्र पुज्यन्ते तत्र मातामहाअपि ।

जातमात्रोऽपि दौहित्रो विद्यमानोऽपि मातुले । कुर्यान्माताहमश्राद्धं प्रतिपद्याश्विने सिते ।।– पा.गृ.सूत्र । यद्यपि पार्वणश्राद्धका सन्दर्भमा अपरपक्ष अर्थात् आफ्ना पितृहरू एकपक्ष र मातामहादि मावलीका अर्कोपक्ष गरी श्राद्ध सम्पन्न हुने भएकाले घरका पितृको श्राद्धकै दिन मावलीको पनि श्राद्ध भएकै हुन्छ । तथापि संस्कारित मामा छैनन् वा भएपनि श्राद्ध गर्ने अवस्थामा छैनन् भने दौहित्र(छोरीको छोरा)ले आश्विन पतिपदाको दिन मातामहश्रद्ध गर्नुपर्छ भन्ने मत छ ।

पार्वणश्राद्ध निषेध – विवाहोपनयादूद्र्धं वर्षाद्र्धं वर्षमेव वा । नकुर्यात्पिण्डनिर्वापं नदद्यात्करणानि च ।। साम्वत्सरिक पितृयज्ञस्तु भवति । अर्थात् घरमा विवाहादि कर्महरू जहाँ नान्दीमुखश्राद्ध भएको होस् त्यसपछिको कम्तिमा छ महिनाभित्र पार्वणश्राद्ध परेमा पिण्डदान र तर्पणादि कार्य गर्नु हुँदैन ।

रजस्वला हुँदा – स्त्रीकतृके वा श्राद्धे सा रजस्वला चेत् तदा पञ्चमे हनि श्राद्धङ्कुर्यात् । अर्थात् श्राद्धकर्ताकी स्त्री रजस्वला भएमा चौथो दिनमा एकाभक्त गरी पाँचौँ दिनमा श्राद्ध गर्ने । यो नियम केवल पार्वणश्राद्धमा लागू हुन्छ, एकोद्दिष्टमा हुँदैन ।
सपिण्डीकरण भएर वर्षदिनसम्मका सबै कृत्य सकेपछि पार्वणश्राद्ध गर्ने विधि छ ।

अपुत्रा मातृश्राद्ध – अपुत्रायान्मृतायान्तु पतिः कुर्यात्सपिण्डताम् । श्वश्व्रादिभिः सहैवास्याः सपिण्डीकरणम्भवेत् । अर्थात् छोरा नहुनेहरूको श्राद्ध पति, पत्निले गर्नुपर्छ । पत्नीले गर्दा पतिका बाबुहरूलाई पक्ष मान्ने तथा पतिले गर्दा पत्नीकी आमाहरूलाई पक्ष मानेर श्राद्ध गर्ने वा सपिण्डन गर्ने ।
पितृ छँदै आमा नभएकाले आमाहरूको पार्वणश्राद्ध मातृनवमीमा गर्ने विधि छ ।

पिण्डक्षेपण – पिण्डानान्तीर्थसलिले प्रक्षेपः । नदी वा तीर्थको जलमा पिण्ड सेलाउनू ।
श्राद्धमा पवित्र प्रयोजनीय कुरा ः उच्छिष्टं शिवनिर्माल्यं वान्तं च मृतकर्पटम् । श्राद्धे सप्त पवित्राणि दौहित्रः कुतपस्तिलाः । अर्थात् दूध, गङ्गाजल, मधु, तसर वा तुलको कपडा, छोरीको छोरा, कुतप(मध्याह्नकाल) र तिल यी सात कुरा श्राद्धमा पवित्र मानिन्छन् भनेर श्राद्धकल्पलतामा हेमाद्रिको कथन छ । कुश र यी कुराहरूसँगै तुलसीको पनि महिमा पिण्डका लागि उत्तिकै छ । तुलसीगन्धमाघ्राय पितरस्तुष्टमानसाः । प्रयान्ति गरुडारूढास्तत्पदं चक्रपाणिनः । अर्थात् तुलसीको गन्धले पितृगण प्रसन्न भई गरुडमा सवार भएर विष्णुलोक जान्छन् भन्ने मार्कण्डेयको वचन छ । त्यसैगरी श्राद्धमा सेता फूलहरूको पनि उत्तिकै महिमा छ । अगस्त्यं भृङ्गराजं च तुलसी शतपत्रिका । चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभाः । भनेर निर्णयसिन्धुमा स्मृतिसारले अगस्त्यपुष्प, भृङ्गराज, तुलसी, शतपत्रिका, चमेली र तिलपुष्प यी छवटा मुख्य र अन्य सेता सुगन्धित फूलहरू शुभ हुने बताएका छन् ।

श्राद्धमा निषिद्ध कुरा – श्राद्ध शुद्ध पवित्र मनले गरिने श्रद्धाभाव भएकाले यसमा अपवित्रता, क्रोध, चञ्चलता, परान्नभक्षण, दन्तधावन, ताम्बूलसेवन, तैलमर्दन, स्त्रीसम्भोग, औषधि आदि मुख्य कुरा त्याग्नु पर्दछ । यसै गरी फलामको भाँडा, माटोको बनाइएको भाँडा र केराको पात सधैँ निषेध गरिएको छ, यथा –
असुराणां कुले जाता रम्भा पूर्वपरिग्रहे ।
तस्या दर्शनमात्रेण निराशाः पितरो गताः ।
न कदाचित् पचेदन्नमयःस्थालीषु पैतृकम् ।
अयसो दर्शनादेव पितरो विद्रवन्ति हि ।
भनेर श्राद्धकल्पलतामा बताइएको छ ।

धनको अभावमा पनि श्राद्ध गर्न सकिने – श्राद्ध गर्ने काम धनीहरूको मात्रै हो भन्ने धारणा यदि कसैमा छ भने त्यो आजै मनबाट निकाल्दा हुन्छ । पद्मपुराण लगायतका शास्त्रहरूले श्राद्धको महिमा बताउँदै यथाशक्ति श्राद्ध गर्ने विकल्पहरू पनि दिएका छन् । अन्नको अभावमा यदि श्रद्धापूर्वक कसैले शाकले मात्रै पनि श्राद्ध गर्दछ भने त्यो अन्यभन्दा लाखगुनाले बढी फल प्राप्त गर्दछ, भनिएको छ । पिण्डदान वा ब्राह्मणभोजनको अभावमा अग्निमा अथवा गोग्रास दिएर पितृ तृप्त हुने कुरा बताइएको छ ।

उपसंहार – मानिसले तिर्नुपर्ने देवादि ऋण वा गर्नुपर्ने कर्तव्यमध्ये पितृऋण पनि एक हो । त्यसैले आफूलाई माता, पिताहरूले मायापूर्वक पालनपोषण गरेको केही अंश मात्रै भएपनि यसकिसिमका श्राद्धका कर्मले पूर्ति हुने भएकाले आफ्ना पितृहरूप्रति ससम्मान श्रद्धाभाव प्रकट गरौँ । वैदिक–सनातन धर्मशास्त्रको पालना गरी ऋषिसभ्यता र मानवताको पुनजार्गरण गर्न सहयोगी बनौँ, धन्यवाद ।

प्रतिक्रिया