पानीको विषयमा विवाद हुँदा घरबेटीबाट मारिए डेरावाल

काठमाडौंको कीर्तिपुरमा शुक्रबार घरबेटीबाट ४२ वर्षीय डेरावाल शम्भु चौधरी (महतो) मारिए । घरबेटी प्रेमकृष्ण महर्जनको कुटाइबाट चौधरीको मृत्यु भएको हो ।

भारतको चम्पारण घर भएका चौधरी दुई दशकयता नेपालमा बस्दै आएका थिए । कीर्तिपुर नगरपालिका ७, भाजंगलमा उनी पत्‍नी र तीन छोराछोरीसहित बस्दै आएका थिए । मजदुरी गरेर परिवार पालिरहेका चौधरी र घरबेटीबीच पछिल्लो समय खटपट हुँदै आएको प्रहरी बताउँछ ।

पछिल्लो समय चौधरी उक्त डेरा सारिरहेका थिए । महर्जनको घरमा रहेको डेराबाट सबै सामान भने सारिसकेका थिएनन् । घरबेटीसँग बिहीबार पानी प्रयोगका विषयमा विवाद भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले भने, “पानी प्रयोगकै विवाद बढ्दै जाँदा घरबेटीले कुटपिट गरे । कुटपिटपछि उपचारका क्रममा उनको मृत्यु भयो । घरबेटी र उनका दुई छोरालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा अघि बढाएका छौं ।”

चौधरीको मृत्युपछि उनको परिवारको विचल्ली भएको छ । उनका आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार घरबेटी महर्जनको परिवारले लकडाउनसँगै अनेक दु:ख दिँदै आएका थिए । लकडाउनका कारण भाडा तिर्न केही समय लागेपछि घरबेटीले कोठा सर्न दबाब दिँदै आएको खुलेको छ ।

पछिल्लो समय उनले भाडा तिरिसकेका थिए । उनको पुरानो कोठाकै आसपासमा नयाँ कोठासमेत खोजीसकेका थिए । शुक्रबार बिहान पनि उनीहरुले सामान सार्ने योजना बनाएका थिए । त्यही क्रममा पानी प्रयोग गर्न खोज्दा विवाद भएको थियो । विवादकै क्रममा घरबेटी महर्जनले चौधरीमाथि आक्रमण गरेका थिए ।

चौधरीको शव त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा छ । परिवारका सदस्यले शव बुझेका छैनन् । प्रहरीले घटनामा प्रेमकृष्ण महर्जनको मात्रै संग्लनता भएको दाबी गरेको छ । तर जोहेरीमा छोराहरुको नामसमेत आएपछि उनीहरुलाई समेत अनुसन्धानका लागि पक्राउ गरिएको हो । घटनामा अन्य धेरै कारण नभएको र अपराधिक मानसिकताको उपज मात्रै भएको प्रहरी दाबी छ ।

प्रतिक्रिया