सुक्खा पहिरो खस्‍न थालेपछि उद्धारमा कठिनाइ

काठमाडौं । सिन्धुपाल्चोकमा सुक्‍खा पहिरो खस्‍न थालेपछि उद्धारमा कठिन भएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका ७ मा बिहान ३ बजेको आसपासमा पहिरो गएको थियो ।

पहिरोमा २५ बढी बेपत्ता भएको र अहिलेसम्म चार जनाको शव फेला परेको स्थानीयले जानकारी दिएका छन् ।
तीनजनाको शव उत्खनन गरेर निकालिएको र अर्को एकजनाको शव देखिएको स्थानीयको भनाइ छ । भिरखर्कबाट सुरु भएको पहिरो नागपुजे छिचोलेर भोटेकोसीमा खसेको थियो ।

“अहिले हामी पीडितहरूलाई सुरक्षित स्थानतर्फ सारिरहेका छौं । घाम लागेपछि सुक्खा पहिरो खस्‍न थालेकाले उद्धारमा कठिनाइ भइरहेको छ,” उपमेयर सुशील पाख्रिनले भने, “पहिरोले ताछेर लगेकाले कहाँ कति क्षति भयो भनेर आकलन गर्न पनि कठिनाइ भइरहेको छ ।”

यसैबीच सभामुख अग्‍नि सापकोटासहितको टोली स्थलमार्ग भएर पहिरोस्थल पुगेको छ । साउनयता सिन्धुपाल्चोकका पटकपटक विपत्तिका घटना भएका छन् । गत साउन ३० गते जुगल गाउँपालिका २, लिदीमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया