काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू झुक्ने पक्षमा नरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले महानगरलाई नाकाबन्दी लगाए पनि फरक नपर्ने दाबी गरे।
प्रधानमन्त्रीले प्रमुख प्रशासकीय अधिकृत नपठाएर झन् भ्रम फैलाएको आरोप लगाउँदै शाहले लेखेका छन्, ‘जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। अहिले देशलाई सबैभन्दा आवश्यक कुरा सुशासन हो। भ्रष्टहरूविरुद्धको लडाइँ हो।’
उनले सरकारलाई व्यंग्य गर्दै ‘भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए अहिलेको सरकारलाई दिन सकिन्छ’ भनेका छन्। शाहको यो अभिव्यक्तिले सत्तापक्षसँगको उनको तनाव झन् चर्किएको सङ्केत गरेको छ।