प्रहरी हिरासतमा थुनुवाको मृत्यु : एसपीको नेतृत्वमा छानबिन समिति गठन

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रोशन विकको मृत्यु भएको घटना छानविन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक (एसपी) राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहले बताए ।

धनगढी उपमहानगरपालिका–५ का रोशनलाई भदौ २२ मा चोरी मुद्दामा पक्रेर प्रहरीले थुनामा राखेको थियो । शुक्रवार विहान हिरासतको शौचालयमा झुण्डिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले दावी गरेको छ ।

आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । छानविन समितिमा एसपी बस्नेतसहित चारजना छन् ।

प्रहरीले सर्टको पासोमा झुण्डेर आत्महत्या गरेको भनेपनि मृतकका आफन्तले उनको शरीरमा चोटपटक देखिएको हुनाले कुटपिटबाट मृत्यु भएको दावी गरेका छन् ।

प्रहरीले छानबिन समिति गठन गरेपछि शुक्रबार साँझ नै पोस्टमार्टमपछि परिवारले शव बुझेका छन् । मृतकका बुवाले ‘घटनाको सत्यतथ्य छानबिन गरी पाऊँ’ भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए ।

प्रतिक्रिया