१७ अर्ब खर्चिएको बुटवल–नारायणगढ सडक हस्तान्तरण नहुँदै भासियो

काठमाडौं । १७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल–नारायणगढ सडक नेपाल सरकारलाई हस्तान्तरण नहुँदै विभिन्न स्थानमा समस्या देखिएको छ। सडकका केही भाग भासिनुका साथै कतिपय स्थानमा चिरा पर्ने र पानी जम्ने समस्या देखिएपछि सडकको गुणस्तरमाथि प्रश्न उठेको छ।

सडक विभागका उच्च अधिकारीहरूले सडकको गुणस्तर परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई अनुरोध गरेका छन्। सडक हस्तान्तरण नहुँदै समस्या देखिएपछि निर्माणको गुणस्तर, सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षणमाथि समेत प्रश्न उठेको हो।

सडक विभागका अनुसार बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम करिब ९३ प्रतिशत पूरा भएको छ। सडकमा सवारीसाधन सञ्चालनमा आइसकेका छन् भने यसअघि यात्रुले भोग्दै आएको सास्तीसमेत केही कम भएको छ। तर निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्नुअघि नै सडकका विभिन्न भागमा समस्या देखिएको हो।

बुटवल–नारायणगढ सडकखण्ड पश्चिम आयोजना कार्यालयका सूचना अधिकारी विकास खनालका अनुसार बर्दघाटको उकालो हुँदै दाउन्नेतर्फ जाने सडकखण्डको करिब ७ सय मिटर क्षेत्रमा सडकको माटो भासिएको छ। उक्त स्थानमा अहिले माटो भर्ने काम भइरहेको छ। चोरमारा र चिसापानी क्षेत्रमा भने सडक चिरा पर्ने तथा पानी जम्ने समस्या देखिएको उनले बताए।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा एडीबी निर्देशनालयका प्रमुख चूडा ढकालका अनुसार सडकमा देखिएको समस्या अध्ययन तथा गुणस्तर परीक्षणका लागि आयोजना निर्देशनालयले राष्ट्रिय सतर्कता केन्द्रलाई अनुरोध गरेको छ। उनका अनुसार समस्या सडकको कुल लम्बाइको करिब ०.०१ प्रतिशत क्षेत्रमा मात्र देखिएको हो।

ढकालले सडकमा समस्या आउनुमा विभिन्न प्राविधिक तथा भौगोलिक कारण रहेको बताएका छन्। उनका अनुसार गैंडाकोटदेखि बुटवलसम्म माटोको गुणस्तर ठाउँअनुसार फरक भए पनि डिजाइन एउटै भएकाले समस्या आएको हुनसक्छ। माटोको प्रकृतिअनुसार फरक डिजाइन आवश्यक भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ।

नयाँ सडकमा तत्कालै कालोपत्र गरिनु, क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन हुनु तथा दाउन्ने क्षेत्रमा आवश्यक ठाउँमा ढलान नगरिनुसमेत सडकमा समस्या आउनुका कारण हुनसक्ने उनले बताए।

हस्तान्तरण नहुँदै समस्या देखिएकाले त्यसको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने र यसबाट तत्काल राज्यलाई आर्थिक क्षति नहुने सडक विभागका अधिकारीहरूको दाबी छ। ‘त्यसको सबै मर्मतसम्भार ठेकेदार कम्पनीले गर्नेछ। ठेकेदार कम्पनीले पूर्ण रूपमा तयार गरेपछि मात्र सडक हस्तान्तरण हुन्छ,’ ढकालले बताए।

बुटवल–नारायणगढ सडकखण्ड स्तरोन्नतिका लागि चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग २०१८ डिसेम्बर १९ मा १७ अर्ब २ करोड रुपैयाँमा सम्झौता भएको थियो। आयोजना सम्पन्न गर्ने समय पटक–पटक थपिँदै आएको छ। हालसम्म चारपटक म्याद थपिए पनि आयोजना अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

कुल ११३ किलोमिटर लामो सडकखण्डलाई पूर्वी र पश्चिमी गरी दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ। पूर्वी खण्ड ६४.४२५ किलोमिटर र पश्चिमी खण्ड ४८.५३५ किलोमिटर लामो छ। सडक विभागअन्तर्गत एडीबी निर्देशनालयमार्फत सञ्चालन भइरहेको आयोजनामा एसियाली विकास बैंकको सहयोग रहेको छ।

यसैबीच, पूर्वाधार विकास मन्त्रालयका एक उच्च तहका इन्जिनियरले भने सडक हस्तान्तरण नहुँदै भासिनु सामान्य विषय नभएको बताएका छन्। उनका अनुसार सडकको डिजाइनअनुसार माटो भर्ने र कालोपत्र गर्ने काम भए–नभएको विषयमा गम्भीर अध्ययन आवश्यक छ।

‘यसमा धेरै कारण हुन सक्छन्। डिजाइनअनुसार माटो भरेको तथा कालोपत्र गरेको देखिएन। यसमा अनुगमन र प्राविधिक परीक्षणमा पनि प्रश्न उठेको छ,’ ती इन्जिनियरले भने।

उनका अनुसार सडक भासिएको स्थानमा करिब २० सेन्टिमिटर कालोपत्र गर्नुपर्नेमा १० सेन्टिमिटर मात्र कालोपत्र गरिएको देखिएको छ। सडकमा समस्या आउनुको वास्तविक कारण पत्ता लगाई निर्माणको गुणस्तर र प्राविधिक परीक्षणसमेत छानबिन गर्नुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय