साढे दुई महिनापछि ‘टुंगियो’ नेकपाको आन्तरिक विवाद

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद साढे दुई महिनापछि टुंगिएको नेकपा नेताहरुले दाबी गरेका छन् ।

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको हो । स्थायी कमिटी बैठक जारी रहँदै एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको नेकपाको आन्तरिक विवाद चुलिएको छ ।
शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, “आजको बैठकमा दुई जना अध्यक्षहरुले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुभयो । जुन प्रस्ताव बिहीबार नै सबै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त प्रस्तावमा १३ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्‍नुभएको छ ।”

प्रवक्ता श्रेष्ठका अनुसार रघु पन्त, भिम आचार्य, लिलामणी पोखरेल, देव गुरुङ, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, मातृका यादव, भिम रावल, अमृत बोहोरा, झलनाथ खनाल र प्रवक्ता आफैंले उक्त प्रस्तावमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष प्रचण्ड उक्त धारणाहरुमाथि आफ्नो विचार व्यक्त गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए । बिहीबार लिखितरुपमा पठाएका सुझाव र शुक्रबार उठाइएका प्रस्तावहरुलाई समेट्‍ने गरी बैठकले पारित गरेको छ ।

जसमा पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टी एकतालाई थप सुदृढ बनाउने संकल्प प्रस्ताव पारित गरेको, पार्टी सञ्‍चालनमा भएका कमिकमजोरीलाई सच्याउने र आगामी दिनमा पार्टी विधि र पद्धती अनुसार अघि बढाउने निर्णय गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए ।

उनले थपे, “त्यसैगरी अध्यक्षको कार्यविभाजनको सन्दर्भमा प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ । सरकार पार्टीको मार्गनिर्देशनमा सञ्‍चालन हुने र दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र महत्वपूर्ण निर्णयहरु लिँदा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर निर्णय गर्ने । यसरी राष्ट्रिय महत्वका निर्णयहरुमा सचिवालय र दुई अध्यक्षको परामर्शमा सरकारले निर्णय लिनेसमेत निर्णय भएको छ ।”

त्यसैगरी पार्टीको महाधिवेशन ०७७ चैत २५-३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने पनि निर्णय भएको जनाइएको छ । त्यसको तयारीका लागि पार्टी केन्द्रीय कमिटीको बैठक कात्तिक १५-१७ सम्म बस्‍ने निर्णय गरेको छ ।

त्यसैगरी पार्टीले नेपाल-भारत सीमा समस्या समाधानका लागि र नेपाली भूमिमा रहेका विदेशी सेनालाई फिर्ता पठाउने गरी सरकारले चालेको कदमप्रति सरकारलाई धन्यावद दिएकोसमेत पार्टी प्रवक्ता श्रेष्ठले बताएका छन् ।

उनले भने, “अब भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पार्टीले निकालेको छ । सरकारले यस विषयमा लिएको पहललाई अझ प्रभावकारी रुपमा अघि बढाउने भएको छ ।”

कोभिड-१९ का बारेमा सरकारले अहिलेसम्म लिएको नीति, योजना र कार्यक्रमलाई सकारात्मक रुपमा लिँदै यसको प्रभावकारी नियन्त्रणमा लिँद यसको समाधानका लागि राष्ट्रिय एकताका साथ अघि बढ्ने पनि स्थायी कमिटीले निर्णय गरेको छ । फ्रन्टलाइनमा रहेका चिकित्सकलगायतका पेशाकर्मीको चासोलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।

एमसीसीको हकमा यसलाई आवश्यकता अनुसार संसोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, “परिमार्जनको विषयमा झलथान खनाल नेतृत्वको टोलीले तयार गरेको प्रतिवेदनलाई आधार बनाएर पार्टीभित्र थप थलफल गर्ने निर्णय भएको छ ।

उनले भने, “प्रधानमन्त्री ओलीले पार्टी एकताको नयाँ उचाईमा पुगेको र अन्तरविरोध र देशीविदेशी शक्तिहरुले पार्टी फुटाउने विषयमा असफल भएको बताउनुभएको थियो ।”

प्रतिक्रिया