काठमाडौं । नक्कली सुन तस्करी प्रकरणमा काठमाडौंका दुई सुन ब्यापारी पक्राउ परेका छन । काठमाडौंको सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा प्रहरीले न्यूरोडका दुई सुन व्यापारीलाई पक्राउ गरेको हो ।
न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायलाई प्रहरीले पक्रेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुवैजनालाई सात दिनअघि न्युरोडबाटै पक्राउ गरेको हो ।
संगठित अपराधअन्तर्गत अदालतबाट म्याद लिएर दुवैजनामाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए ।
श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्ट्र बैंकबाट उक्त सुन खरिद गरेका थिए । राष्ट्र बैंकको नियमअनुसार खरिदपछि व्यापारीले ढिक्कै अर्को व्यापारीलाई बिक्री गर्न पाउँदैन । गहना बनाएर मात्र बिक्री गर्नुपर्छ ।
‘पक्राउ परेका व्यापारीले सुन इल्ताफलाई दिएको पाइयो । उनीहरूले इल्ताफलाई ढिक्कै बेचेको पाइयो, जुन गैरकानुनी हो ।’ एसपी राठौरले भने ।
प्रहरीले यस प्रकरणमा इल्ताफसहित निलेश सखिया, विजय पटेल, मनीष मल्लिक, कौशल पटेल, दिवाङ पटेल तथा प्रहरी जवानहरू बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।
उनीहरूविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजाना कसुरअन्तर्गत म्याद थप भई अनुसन्धान जारी रहेको छ । यो प्रकरणमा जोडिएका न्युरोडकै हुन्डी व्यापारी विकास अग्रवाल र सञ्जय पटेल भने फरार रहेका छन् ।