• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

डब्ल्युएचओ प्रमुखको चेतावनी : संसार दोस्रो महामारीको सामना गर्न तयारी अवस्थामा रहनुपर्छ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेका बेलामा डब्ल्युएचओ प्रमुख डा.टड्रोस अधानामले सोमबार संसारभरका मानिस दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेका हुन् ।

दोस्रो महामारी पूर्व नै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानीका लागि उनले संसारभरका सबै देशलाई आग्रह पनि गरेका छन् । त्यसो नभएमा विश्वमा दोस्रो महामारीले कोरोनाभन्दा पनि ठूलो क्षति हुनसक्ने उनको भनाइ छ ।

डा.टेड्रोसले कोरोना भाइरसको संक्रमणबाट संसारभर २ करोड ७१ लाख मानिस संक्रमित भएको र झण्डै ९ लाख मानिसले ज्यान गुमाएको बताए । सन् २०१९ को डिसेम्बरदेखि देखिएको कोरोना भाइरसले अहिलेसम्म कतिपय देशमा भयावहको अवस्था निम्ताएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न नै ठूलो समस्या पर्ने अवस्था देखिएको बताएका छन् ।

डब्ल्युएचओको मुख्यालय जेनेभामा पत्रकार सम्मेलनमा उनले कोरोना भाइरसको विश्व व्यापी महामारी नै अन्तिम महामारीका रुपमा बुझ्न नहुने बताए । उनले भने, ‘इतिहासमा कयौँ महामारी आएको हामीले आधार हेरेका छौँ । यो महामारी जीवनको सच्चाइ हो । यो प्रक्रिया समाप्त हुँदैन । यो समाप्त नहुँदै दोस्रो महामारीको खतरा पनि बढेको छ । त्यसैले हामीले सार्वजनिक स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी गर्नुपर्छ ।’

संसारभरका देशले सम्भावित महामारीको भ्याक्सिन र औषधिमा मिलेर अनुसन्धान गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले भने, ‘सार्वजनिक स्वास्थ्यको क्षेत्रमा हामीले धेरै लगानी गर्न आवश्यक छ । भ्याक्सिन र औषधिलाई तत्काल उत्पादन गरेर बजार लैजाने व्यवस्था गर्नुपर्छ । कुनै पनि महामारी फैलिँदासाथ हामीले नियन्त्रण गर्न सक्नेगरी तयारी गर्नु वुद्धिमता हुन्छ ।’

डब्ल्युएचओका विशेषज्ञ माइक रयानले यो वर्षको अन्तिमसम्म कुनै पनि देशको कोरोनाविरुद्धको भ्याक्सिन बजारमा नआउने प्रष्ट पारेका छन् । उनले भने, ‘हामीले विश्वास गरेका थियौँ, अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन आउँछ भन्ने । तर, त्यो आशा समाप्त भएको छ । अनुसन्धान भने तिब्र गतिमा भइरहेको छ । अहिलेसम्मको अवस्था हेर्दा कोरोनाविरुद्धको भ्याक्सिन बजारमा आउन नयाँ वर्ष लाग्नुपर्छ । यो वर्षको अन्तिममा भ्याक्सिन बजारमा आउने सम्भावना छैन ।’

डब्ल्युएचओले सन् २०२१ को सुरुवाती महिनामै भ्याक्सिन आउने सम्भावना रहेको जनाएको छ । माइक रयान कोरोनाविरुद्धको भ्याक्सिन संसारभर पुरयाउनका लागि डब्ल्युएचओबाट समन्वय गर्ने अधिकारी पनि हुन् । उनले ढिलोगरी भए पनि भ्याक्सिनले आशा जगाएको बताएका छन् । निराश हुनुभन्दा कोरोनाबाट बच्नका लागि विभिन्न उपायको अवलम्वन गर्न उनको सुझाव छ ।

डब्ल्युएचओले छिटो बजारमा ल्याउने उद्देश्यले निर्माण गरेका भ्याक्सिनलाई मान्यता नदिने प्रष्ट पारेको छ । सबै प्रक्रियाको पालना गरेर आउने भ्याक्सिनले मात्रै मान्यता पाउने उनको भनाइ छ । डब्ल्युएचओका अनुसार ३७ वटा भ्याक्सिन अहिले विभिन्न क्लिनिकल परीक्षणको अवस्थामा रहेका छन् । १ सय ८८ भ्याक्सिनलाई डब्ल्युएचओले निगरानी गरिरहेको छ । त्यसमध्ये ९ वटा भ्याक्सिन अन्तिम चरणमा रहेको डब्ल्युएचओले जनाएको छ ।

प्रतिक्रिया