निजामती सेवा दिवसमा प्रधानमन्त्रीकाे शुभकामना : देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निजामती कर्मचारी देश विकास र नागरिककाे सेवामा समर्पित हुन आग्रह गर्नुभएकाे छ ।

निजामती सेवा दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरु पेशागत मूल्यमान्यता र निष्ठा आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहारमार्फत् सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभएकाे हाे ।

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनका आधारमा प्रत्येक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाउने गरिन्छ । विसं २०१३ मा टंकप्रसाद आचार्यकाे सरकारले आजका दिन निजामती सेवा ऐन ल्याएको थियो ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ ।

तानाशाही विरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य रहेको प्रधानमन्त्रीले बताउनुभएकाे छ ।

प्रधानमन्त्रीले विभिन्न संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गरी पीडितहरुप्रति सहानुभूति प्रकट पनि गर्नुभएकाे छ ।

उहाँले निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण र पेशागत निष्ठा मार्फत जनताप्रति उत्तरदायी र असल शासनको ब्यवहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया