संक्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।

नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका एक जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हो ।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले ठूलो सङ्ख्यामा सबैमा संक्रमण देखिन थालेपछि समुदायमा नै संक्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिए । यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौं उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेको छ । हिजोमात्र ४ सय ८१ जनामा संक्रमण देखिएको थियो ।

“संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ”, उनले भने, “अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैनन् भन्ने पुष्टि गर्दछ ।” महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर सातवटै प्रदेशमा रगत सङ्कलनका लागि पठाउने महाशाखा निर्देशक डा पाण्डेले बताए ।

सातवटै प्रदेशमा संक्रमण बढी फैलिएका ठाउँमा गई छ हप्तादेखि कतै नगएका व्यक्तिको रगत सङ्कलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ ।

एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । सातवटै प्रदेशबाट सङ्कलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ ।

महाशाखाका निर्देशक डा पाण्डेले अवको एक हप्तामा सातवटै प्रदेशमा रगतको नमूना सङ्कलन गर्नका लागि टोली जाने बताए । उनका अनुसार करिब एक महिनाभित्र समुदायस्तरमा फैलिएको हो वा होइन भनेर अध्ययन पूरा गरिनेछ । “पहिले ट्राभल हिस्ट्री भएका मानिसमा मात्र संक्रमण देखिएको थियो”, उनले भने, “तर अहिले ट्राभल हिस्ट्री नभएका र समुदायमा रहेका व्यक्तिमा पनि संक्रमण देखिएको छ । काठमाडौंमा नै ट्राभल हिस्ट्री नभएका मानिसमा संक्रमण देखिएको छ ।”

विगतमा विदेशमा आएका १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिए पनि अहिले नेपालभित्रकै जो कोहीलाई पनि संक्रमण देखिन थालेको उनको भनाइ रहेको छ । गत माघ ९ गते नेपालमा पहिलोपटक संक्रमण देखिएको थियो । अहिलेसम्म ४६ वटा प्रयोगशालामा सात लाख पाँच हजार ५ सय ६० जनामा गरिएको पिसिआर परीक्षणमा ४० हजार ५ सय २९ जना कोभिड– १९ को संक्रमण देखिएको छ ।

पिसिआर परीक्षण गरिएकामध्ये संक्रमण दर ५.७ प्रतिशत रहेको छ । तीमध्ये सक्रिय संक्रमित १८ हजार १ सय १२ जनामा रहेको छ । यस्तै २ सय ३९ जनामा संक्रमणका कारणले निधन भइसकेको छ । नेपालमा प्रति १० लाख ७.८ प्रतिशत मृत्युदर, संक्रमितमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौं, ललितपुर र रुपन्दहीलगायतका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले समुदायस्तरमा संक्रमण फैलिएकाबारे अध्ययन गर्ने तयारीमा रहेको जानकारी दिए । उनले १२ जिल्लामा खासखास ठाउँमा (कलस्टर)मा संक्रमण देखिएको बताए । “यहाँ समुदायमा संक्रमण अझै फैलिएको छैन”, उनले भने, “बाह्र जिल्लामा क्लस्टरमा संक्रमण फैलिएको छ । त्यसलाई नियन्त्रण गर्न सकेनौं भने समुदायमा फैलिने डर छ ।”

अहिलेसम्म २२ हजार १ सय ७८ जना संक्रमणबाट निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत डिस्चार्ज रहेका छन् । अहिले संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ जना, होम आइसोलेसनमा सात हजार २ सय ८० जना र क्वारेन्टिनमा सात हजार ३ सय ९० जना रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले समुदायमा संक्रमण अझै गइ नसकेकाले बताए । उनले संक्रमणको सूचक हेर्दा नेपाल तेस्रो चरण प्रवेशका क्रममा रहेको बताए । रासस

प्रतिक्रिया