अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेन भएकाेबारे मिश्रले खुलासा गर्नुभएकाे थियाे । घुस लेनदेनकाे खुलासा भएपछि सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले राजीनामा दिनुभएकाे थियाे ।
बुधबार गोरखापत्रमा अख्तियारले सूचना जारी गरी मिश्रलाई हाजिर हुन आउन भनेको हो । अख्तियारकाे सूचनामा भनिएकाे छ ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाई गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलमा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ ।’
यसका सम्बन्धमा मिश्रले वक्तव्य जारी गरेर याे अनुसन्धानका लागि आफू सघाउन तयार भएकाे बताउनुभएकाे थियाे । मिश्र यतिबेला जापानमा हुनुहुन्छ ।