राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणपत्र जारी गर्न सहज बनायो

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ऋणपत्र जारी गर्ने व्यवस्था खुकुलो बनाएको छ ।

राष्ट्र बैंकले चुक्ता पुँजीको दबाब कम गर्न मिल्ने गरी यस्तो सुविधा दिएको हो । अब चुक्ता पुँजीको पाँच प्रतिशतसम्म सञ्चित नोक्सानी रहेका बैंक तथा वित्तीय संस्थाहरूले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सञ्चित नोक्सानी शून्य बनाएपछि मात्रै ऋणपत्र जारी गरिने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी कोष दबाब थेग्न समस्या भएपछि केन्द्रीय बैंकले यस्तो सुविधा ल्याएको हो । पछिल्लो समय कर्जा निक्षेपको अनुपातको आधार बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजी सहज अवस्थामा भए पनि पुँजीकोष अनुपातको कारण कर्जा विस्तार हुन सकेको छैन । कुल जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था यो सीमानजिक पुगेकाले केन्द्रीय बैंकले सहजीकरण गरिदिएको हो ।

बैंक तथा वित्तीय संस्थालाई दायित्व नपर्ने, तर चुक्ता पुँजीमा गणना गर्न मिल्ने किसिमको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिइएको छ । यस्तो सेयर चुक्ता पुँजीमा गणना हुने भएकाले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजीको अनुपात पुर्‍याउन सहयोग हुन्छ । साथै, यस्तो सेयरधनीलाई वित्तीय संकटका कारण लाभांश नदिने अवस्था सिर्जना भएमा दिनैपर्ने बाध्यता हुँदैन ।

अग्राधिकार सेयर लिनेहरूलाई मताधिकार पनि नहुने भएकाले बैंक तथा वित्तीय संस्थाले विनाव्यवस्थापकीय हस्तक्षेपमा पुँजीको उपयोग गर्न पाउँछन् ।

प्रतिक्रिया