सर्पले डसेपछि उपचारका लागि पुगेका व्यक्तिमा कोरोना संक्रमण

डसेपछि उपचारका लागि अस्पताल पुगेका तुलसीपुरका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट तुलसीपुर १३, फूलबारीका ४७ वर्षीय पुरुषमा आइबार कोरोना संक्रमण पुष्‍टि भएको हो । तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले संक्रमित व्यक्तिलाई सर्पले डसेपछि उपचारका लागि सुरुमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुगेको र पछि बाँकेका अस्पतामा उपचार गराउन गएको भन्‍ने खुल्न आएको बताए ।
‘‘राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारका लागि उहाँ नेपालगन्‍ज गएको र आशंका लागि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भन्‍ने छ,’’ केसीले भने । सर्पले डसेका व्यक्तिलाई अस्पतालबाटै संक्रमण फैलिएको आशंका गरिएको छ । आइतबार संक्रमण फेला परेकामध्ये घोराहीका ६५ वर्षीय पुरुष पनि उपचारका लागि भरतपुर पुगेको समयमा संक्रमण भएको आशंका गरिएको छ ।

यसअघि टाउकोमा चोट लागेपछि उपचारका लागि भैरहवा पुगेका घोराही ५ का ४० वर्षका दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार दाङका ५ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७२ पुगेको चन्दले जानकारी दिएका छन् । त्यसमध्ये ६९८ जना उपचारपछि घर फर्किसकेका छन् । जिल्लामा हाल सक्रिय संक्रमित ७२ जना छन् । त्यसमध्ये दुईजनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया