काठमाण्डौ । नेपालको शेयर बजार हल्लाले बढि प्रभावित हुने कुरा सबैलाई जानकारी नै छ । समयमै निर्वाचन हुने हल्लाले आइतबार शतक माथि बढेको बजार आज सोमबार भने दोहोरो अङ्कले घटेको छ । यसरी हेर्दा बजार वास्तविक तथ्य भन्दा पनि हल्लाको पछि लागेको प्रष्ट हुन्छ ।
सोमबार बजार मापक सूचक नेप्से १४ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २८ सय ७१ विन्दुमा आएको छ । यो अवधिमा आज २२५ कम्पनीहरूको शेयर खरिद बिक्री भएको थियो जस मध्य ३२ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीहरूको शेयर मूल्य घटेको छ ।
तीन कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार भए पनि अधिकांश कम्पनीहरूको शेयर मूल्य भने घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेर ६ अर्ब पनि पुग्न सकेको छैन । हिजोको बृद्धिपछि आजको करेक्सन सामान्य रहेको कतिपयको बुझाई छ । HIDCl कम्पनीको सबै भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा लघुवित्तको उपसूचक बाहेक अन्य उपसूचक घटेका छन ।
एमसीसी पास गर्ने तथा सत्ता गठबन्धन तोडिने अनावश्यक हल्लाले बजार घटेको हुन सक्ने जानकारहरुको भनाई छ ।