लुम्बिनी- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण निर्माण भएको बताएका छन्। उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको दाबी गरे।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको शनिबार शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले भने, "अर्थतन्त्र दबाबमा छ, तर निजी क्षेत्रलाई निराशाबाट आशा, विश्वास, र भरोसाका साथ उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी छ।"पौडेलले दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकारको प्रमुख उद्देश्य देशलाई अस्थिरताबाट जोगाउनु रहेको बताए।
उनले लोकतन्त्र र नागरिकका अधिकारहरूको संरक्षणका लागि मुख्य दुई पार्टीको सहकार्यले राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको स्पष्ट पारे।"विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्छ," उनले भने। पौडेलले लुम्बिनी प्रदेशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्ने राम्रो संस्कार रहेको उल्लेख गरे। साथै, उनले प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताए।अर्थमन्त्री पौडेलले आयोजना समयमै सम्पन्न गर्न प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण, र निर्माण कम्पनीलाई निर्देशन दिए। उनले भने, "छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुनुहुँदैन। गुणस्तरीय काम गरेर समयमै सक्नेगरी अगाडि बढ्नुपर्छ।"अर्थमन्त्री पौडेलले भवन मात्र निर्माण गरेर नहुने, त्यसको प्रभावकारी व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए।
उनले अस्पताल भवन निर्माणसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया समयमै योजना बनाएर अघि बढ्न आग्रह गरे। उनका अनुसार, अस्पतालको पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न प्रदेश सरकारले तयारी थाल्नुपर्छ।प्रदेश सरकारको ६ अर्ब १८ करोड लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको 'ड्रिम प्रोजेक्ट'का रूपमा रहेको छ।
प्रदेशको चारवटा गौरवका आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण महत्त्वपूर्ण मानिएको छ। नयाँ भवन निर्माणको प्रक्रिया २०७६ मा सुरु भएको थियो, र चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड बजेटसमेत विनियोजन गरिएको छ।अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख लागतमा ठेक्का सम्झौता गरेको छ। भारतीय निर्माण कम्पनी क्याप साइट र नेपाली कम्पनी आशिष रेलिगेशनले संयुक्त रूपमा काम गर्नेगरी २०८० पुस २६ गते सम्झौता भएको थियो।