बञ्चरेडाँडाको अवरोध अन्त्य, कुलमानले १५ दिनभित्र माग पूरा गर्ने वाचा

काठमाडौं, कात्तिक १६ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दाहरूसँग भएको भेटवार्तामा उनीहरूको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री घिसिङको यस आश्वासनपछि फोहोर फाल्न नदिने स्थानीयको आन्दोलन अन्त्य भएको छ र अब काठमाडौं उपत्यकाको फोहोर पुनः बञ्चरेडाँडामा व्यवस्थापन गर्न सकिने भएको छ।

गत चार दिनदेखि स्थानीयले फोहोर फाल्न रोक लगाएपछि काठमाडौं महानगरपालिकाले घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो। शुक्रबार शहरी विकास मन्त्रालयमा सरोकारवालाबीचको छलफल निष्कर्षमा पुग्न नसकेपछि आइतबार मन्त्री घिसिङ स्वयं समस्या समाधानका लागि बञ्चरेडाँडा पुगेका थिए।

त्यहाँ उनले स्थानीय प्रतिनिधि र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गर्दै, अघिल्ला सहमतिहरू कार्यान्वयनका क्रममा ढिलाइ भएको स्वीकार गर्दै तोकिएको समयभित्र सबै माग पूरा गर्ने वचन दिएका हुन्।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले “१५ दिनभित्र काम पूरा गर्न नसके स्थानीयलाई पुनः विरोधमा उत्रिने अधिकार रहन्छ” भन्दै स्पष्ट सन्देश दिएका छन्।

यस सहमतिपछि लामो समयदेखि फोहोर व्यवस्थापनमा समस्या झेल्दै आएको काठमाडौं उपत्यकाको अवस्था केही सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय