Symbolic photo
काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ अन्तर्गत पर्ने बम्का बजारमा आज दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा राखिएको ग्यास सिलिन्डर विस्फोट भएपछि सुरु भएको आगोले आसपासका व्यापारिक पसलहरू जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटतिर आगलागी सुरु भएको हो र समाचार तयार पार्दासम्म पनि पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक देव बहादुर चौधरीको नेतृत्वमा ३२ जना प्रहरी खटिएका छन्।
स्थानीय स्रोतका अनुसार हालसम्म कम्तीमा १६ देखि १७ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भइसकेका छन्। आगलागीका कारण बजार क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको छ। यद्यपि, घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।
आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा, व्यापारी तथा सुरक्षाकर्मीहरू संयुक्त प्रयासमा खटिएका छन्।