काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्।
गृह मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री गुरुङले दरबार हत्याकाण्ड सम्बन्धी फाइल पुनः अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने विषयमा समेत अध्ययन गरिने बताए।
गृहमन्त्री गुरुङले आफूविरुद्ध तथ्य र प्रमाणबिनै विभिन्न आरोप लगाइएको दाबी गर्दै आफूमाथि जस्तोसुकै आरोप लगाए पनि सहन सक्ने, तर नेपाली चेलीमाथि अन्याय भएको भने सहन नसक्ने बताए।
उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई थप सशक्त र प्रभावकारी बनाइने उल्लेख गर्दै छानबिनका क्रममा रहेका अनुसन्धानलाई निष्कर्षमा पुर्याउने तथा रोकिएका फाइलहरू पुनः खोल्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री गुरुङले देशमा सुशासन, निष्पक्ष अनुसन्धान र कानुनी शासनलाई बलियो बनाउने दिशामा गृह मन्त्रालयले काम गर्ने बताए।