‘सुनको झोला’ फालेर भाग्ने तीन जना पक्राउ

कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जनालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।

तीन आरोपी पक्राउ गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले भने, ‘शंकास्पदलाई नियन्त्रणमा लिइएको हो, उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।’
मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा.६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो भागेको प्रहरीको दावी छ । कोर्पियोमा चालक बाहेक तीनजना सवार थिए ।

स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो ।

स्कोर्पियो भने अझै फेला परेको छैन । स्कोर्पियो बारा घर भएका इल्साम हुसेनको नाममा रहेको यातायात व्यवस्था विभागको रेकर्डबाट थाहा भएको छ ।

बिहान ९ बजे डिएसपीको नेतृत्वमा भएको अपरेशनमानै शंकास्पद देखिएपछि महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशील यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।

त्यस्तै, घटना अनुसन्धान गर्ने जिम्मा महानगरीय प्रहरी परिसरबाट खोसेर महाशाखालाई दिइएको छ । ‘सुन अप्रेशन’ सुन्धारामा भएको तर, घटनास्थल परिवर्तन गरिएको महानगरीय प्रहरी परिसरका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । सो अप्रेशनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसी) श्यामलाल ज्ञवाली र डीएसपी दाहालको भूमिका शंकास्पद देखिएको छ ।

बा.६च ५५१९ नम्बरको स्कोर्पियो साउन ३ मा फर्पिङको बाटो हुँदै काठमाडौं आएको थियो । सो गाडी काठमाडौं बाहिर गएको रेकर्डमा देखिएको छैन ।

प्रहरीले रोक्न खोजेपछि सुन र पेस्तोल फालेर तस्कर समूह ट्याक्सीमा नवलपरासी पूर्वको दुम्कीबास पुगेको बताइएको छ ।

प्रतिक्रिया