भारतलाई नेपालको जवाफ – नेपाली आउनु जानु स्वाभाविक हो

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको बताएको छ । जुलाई १४ मा भारतको उत्तराखण्ड राज्यको धारचुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ फर्काउँदै जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, कुटी,नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको स्पष्ट नै भएको बताउँदै ती भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको प्रतिक्रिया दिएको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ, ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली(महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’
पत्रमा अगाडि लेखिएको छ, ‘ती नेपाली भूभागहरुमा नेपालीहरुको आवत–जावत स्वाभाविकै रहेको र त्यसमा कहीँ कतैबाट बाधा अड्चन हुनु हुँदैन भन्ने नेपालको धारणा रहेको कुरा जानकारी आदेशानुसार गराउन चाहन्छु ।’

गत जुलाई १४ मा धारचुलाका उप-जिल्ला अधिकारी अनिलकुमार शुक्लाले कालापानी, लिम्पियाधुरा र गुंजीलाई भारतीय क्षेत्र भन्दै यस क्षेत्रमा नेपाली गुट र समूहले घुसपैठ गर्न लागेको पाएको उल्लेख गरी यसबारे सूचना दिन नेपाली पक्षलाई आग्रह गरेका छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधिकारीले ‘नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका थिए ।

यी समूहले मिडियाको ध्यान आकृष्ट गरी दुवैतिरका अधिकारीका लागि समस्या निम्त्याउन चाहेको पनि पत्रमा लेखिएको थियो । भारतले अतिक्रमण गरेका यी क्षेत्रलाई समेटी नेपालले केही समयअघि नयाँ नक्सा प्रकाशित गरिसकेको छ । यी भूभाग समेटिएको नक्साअंकित निसान छाप पनि प्रयोगमा आइसकेको छ ।

भारतले नेपाली भूमि कालापानी र लिम्पियाधुरा हुँदै मानसरोवर जाने बाटो बनाएपछि दुई देशबीच सीमा विवाद बढेको हो ।

प्रतिक्रिया