निर्मला पन्त हत्या प्रकरणको दुई वर्ष : न अनुसन्धान सकियो न दोषी भेटियो

कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको दुई वर्ष पुगेको छ । बलात्कारपछि हत्या गरिएकी पन्तको अहिलेसम्म दोषी पक्राउ पर्न सकेको छैन । सो प्रकरणमा प्रहरीले पनि अनुसन्धान प्रकृया टुङ्ग्याउन सकेको छैन् ।

न्यायको पर्खाइमा रहेको पन्त परिवार प्रहरीको अनुसन्धान कहिले टुङ्गिएला र दोषी पक्राउ पर्ला भन्ने पर्खाइमा नै छ । कञ्चनपुर भीमदत्त–२ की १३ वर्षीया निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।

गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी पन्तको रोशनीको घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । सुरुमा प्रहरीले यो घटनाप्रति अनुसन्धान गर्न समेत चासो देखाएको थिएन।

अनि स्थानीयबासिन्दाले आन्दोलन गर्नुपर्यो । हत्यापछि निरन्तर आन्दोलन, धर्ना, दबाबमूलक कार्यक्रम भए । प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका, १८ का सन्नी खुनाको मृत्यु भयो । निर्मलाको हत्यापछि कञ्चनपुरमा ४ जना प्रहरी प्रमुख फेरिएका छन् ।

तर घटनाको दुई वर्ष भइसक्दा पनि अनुसन्धान जहाँको त्यहीँ छ । तर बलात्कारपछि हत्या गरिएकी पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । हत्या प्रकरणको अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोगमा दायर मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ ।

यो मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको मुख्य आरोपित भनिएका दिलीपसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छैन ।

सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सईहरू रामसिंह धामी र हरसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद विरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो । तर उनीहरू धरौटीमा छुटिसकेका छन् ।

निर्मलाको हत्या गरेको भन्दै २०७५ भदौ ४ मा प्रहरीले दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर डिएनए परीक्षणमा विष्टको संलग्नता प्रमाणित नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया