काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।
डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो ।
कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार कारागार पुगेकी थिइन् । उनकै कारमा कोइराला घरतर्फ लागेका थिए ।
तारा पनि रञ्जन श्रीमती हत्या अभियोगकी प्रतिवादी हुन् । एक वर्ष जेल सजाय भोगेर उनी छुटेकी थिइन् । उनी पूर्वराष्ट्रिय भलिबल खेलाडी पनि हुन् ।
सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए ।
सो मुद्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको सजाय घटाउने फैसला गरेको थियो ।
नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए ।
शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट ०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।
यसैबीच श्रीमती हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कोइरालालाई सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकन जाने भएको छ ।