सरकारले ब्रिज कोर्स र प्रवेश तयारी कक्षा पूर्ण रूपमा बन्द गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले देशभर सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा तथा ‘ब्रिज कोर्स’ कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले आगामी वैशाख १ गतेदेखि यस्तो कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट निर्देशन जारी गरेको हो।

मन्त्रालयका अनुसार भर्ना प्रक्रियाभन्दा अगाडि निजी तथा शैक्षिक संस्थाहरूले सञ्चालन गर्दै आएका यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा असमान पहुँच सिर्जना गर्ने र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ। यही कारणले यस्ता कार्यक्रमलाई रोक लगाउने निष्कर्षमा सरकार पुगेको हो।

यस विषयमा मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भइसकेको र सोही अनुसार कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन्। मन्त्रालयले निर्णय कार्यान्वयनको अवस्था अनुगमन गर्न समेत निर्देशन दिएको छ।

निर्देशन विपरीत कुनै संस्थाले प्रवेश तयारी कक्षा वा ब्रिज कोर्स सञ्चालन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। साथै, जिल्ला प्रशासन कार्यालयहरूलाई समेत आवश्यक निगरानी र कारबाही प्रक्रिया अघि बढाउन भनिएको छ।

प्रतिक्रिया