पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १० हजार ३२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६०.५३ प्रतिशत संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ३८ जनाले ज्यान गुमाईसकेका छन् ।

यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमकाअनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।

नेपालमा गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या २४ हजार ७१६ छ भने आइसोलेसनमा ६ हजार ६९५ जना उपचाररत छन् । हाल मुलुकका २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

प्रतिक्रिया