सार्वजनिक यातायात तत्काल सञ्‍चालन नहुने

काठमाडौं : सार्वजनिक यातायात तत्काल सञ्चालन नहुने भएको छ। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि गाडी गुड्ने अवस्थामा नरहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जानकारी दिएको छ।

चार महिनादेखि थन्किएका गाडीमा प्राविधिक समस्या देखिनुका साथै कर्मचारीको पनि अभाव रहेको महासंघका उपमहासचिव बसन्त भण्डारीले बताए। ‘गाडीको टायर मक्किएको छ। मोबिल फेर्नुपर्नेछ। ब्याट्री डाउन भएको छ। इन्जिनलगायत विभिन्न प्राविधिक जाँचको आवश्यकता छ’, उपमहासचिव भण्डारीले भने, ‘यी खर्च धान्ने ल्याकत व्यवसायीसँग छैन।

सरकारले सहुलियत र पुनर्कर्जाको व्यवस्था गर्नुपर्छ।’ एउटा गाडीलाई सडकमा चलाउन योग्य बनाउन कम्तीमा पनि ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीको अनुमान छ। केही व्यवसायीले पैसा जोहो गरे पनि ग्यारेजमा मेकानिक उपलब्ध नहुने भण्डारीले बताए।

सरकारले सरोकारबालासँग छलफल नगरी निर्णय लिएको व्यवसायीको भनाइ छ। महासंघले वैशाख २१ गते सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। व्यवसायी र सवारीको समस्या सम्बोधन नभएसम्म सडकमा गाडी गुड्ने अवस्था नरहेको उनले बताए।

‘गाडी चलाउन जोखिम छ। चालक र सहचालकको स्वास्थ्यको जिम्मा कसले लिने। बिमा रकम र सुरक्षा उपकरणको व्यवस्था कसरी गर्ने’, उनले भने, ‘थलिएका यातायात व्यवसायीसँग खर्च गर्ने क्षमता छैन।’ सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएका थिए। कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको हो।

प्रतिक्रिया