स्वास्थ्य मन्त्रालयले भन्यो- भ्रममा नपरौं कोरोना रिमुभिङ कार्ड आएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ नआएको स्पष्ट पारेको छ । कोरोना संक्रमण रोक्न तथा नियन्त्रणका लागि अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ अन्तरगत आज ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए । उनले कसैको भ्रममा परी यसको प्रयोग नगर्न समेत आग्रह गरे । संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सहभागि नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको जनाएको छ ।

प्रवक्ता डा. गौतमले भने, ‘‘अहिलेसम्म कुनै पनि यस किसिमको कार्ड पत्ता लागेको छैन । यस किसिमको विधि र प्रकृया सुरु नै भएको छैन । यदि यस्तो भएको भए संसारभरी नै यस्तो अवस्था आउने थिएन होला । यस्ता विधिहरु प्रभावकारी पाइएमा मन्त्रालयमा दर्ता भएर प्रकृया अनुसार सरकारले नै वितरण गर्नेछ ।’’

भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गलामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको छ ।

नेकपा स्थायी कमिटी सदस्यहरुले शुक्रबार बैठकमा सहभागिता जनाउँदा ‘कोरोना रिमुभिङ कार्ड’ गलामा झुण्ड्याएका थिए । सामाजिक सञ्जालमासमेत सो कुराको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया