दशगजा क्षेत्र अतिक्रमण गरी बाँध बनाउने भारतको योजना विफल

काठमाडौं । नेपाल–भारत सीमा समस्या कालापानी, लिपुलेक र लिम्पियाधुरामा मात्र नभई देशका अन्य भागमा पनि विस्तार हुन थालेको छ ।
दुई देशबीच करिब ९८ प्रतिशत सीमा निर्धारण भइसकेको र दुई प्रतिशतको हाराहारीमा मात्र विवाद कायम रहेको दुवै देशले औपचारिक रुपमै स्वीकार गरिसकेको अवस्थामा विवाद टुंगिएका ठाउँमा समेत भारतीय पक्षले विवाद सिर्जना गर्न खोजेको देखिन्छ ।

केही दिनअघि भारतीय पक्षले रौतहटको सीमावर्ती क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर बाँध निर्माण गर्न खोजेपछि नेपाली पक्षले निर्माण कार्य रोक्न लगाएको छ । उल्लेखनीय छ, रौतहटको ३२ किलोमिटर सीमा क्षेत्र यसअघि नै निर्धारण भइसकेको छ । यो क्षेत्र दुई देशबीच सीमा विवाद सुल्झिसकेको ९८ प्रतिशत हिस्सामा पर्दछ ।

यसका बाबजुद भारतले दशगजा क्षेत्र अतिक्रमण गरी बाँध बनाउन थालेपछि नेपाली पक्षले बाँध निर्माणस्थलमै गएर रोक्नुपर्ने अवस्था आएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल रौतहटका प्रमुखसहितको टोलीले लालबकैया नदीमा तटबन्ध गर्ने बहानामा भारतीय पक्षलाई नेपाली भूमिमा स्थायी संरचना बनाउन रोकेको हो ।

नदीमा तटबन्ध निर्माण गर्ने भने पनि भारतले दशगजालाई मिचेर अग्लो बाँध बनाउन खोजेपछि रोक्नु परेको स्थानीय प्रशासन स्रोतले जनाएको छ । दुई वर्ष अघि बाढीले भत्काएको बाँध मर्मत गर्ने भन्दै भारतले सो क्षेत्रमा बाँध बनाउन थालेको हो ।

बाँध बनाउने क्रममा दशगजाको दुवैतर्फ निश्चित भूभागमा कुनै प्रकारको संरचना बनाउन नपाउने प्रावधानलाई भारतले उल्लंघन गर्न खोजेपछि नेपाली पक्षले तत्कालै उक्त क्षेत्रमा पुगेर बाँध निर्माण कार्य रोक्न लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक रविराज खड्काले भारतीय पक्षबाट नेपाली भूमिमा बाँध बनाउन थालेको भन्ने सूचना आएपछि स्थानीय प्रशासन र सुरक्षा निकायसहितको टोली स्थलगत अनुगमनमा गएको जानकारी दिए ।

‘उनीहरुले गलत ठाउँमा बाँध बनाउन लागेका रहेछन्,’ उनले भने, ‘भारतीय पक्षसँग कुरा ग¥यौं र हाम्रै प्रस्तावअनुसार सीमाका बारेमा सर्भे टोलीले टुंगो लगाएपछि मात्र काम अघि बढाउनेमा उनीहरु सहमत भए ।’

भारतीय मिडियामा भने कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेसँगै अन्य सीमा क्षेत्रमा पनि तनाब बढ्न थालेको भन्दै दशगजा मिच्न खोजेको भारतीय प्रयासलाई विषयान्तर गर्न खोजेका छन् ।

प्रतिक्रिया