सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार ७ पुग्यो, ३३ हजार अझै क्वारेन्टिनमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजारमाथि पुगेको छ । आइतबार साँझसम्म ७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ७ पुगेको हो । हिजो (आइतबार) सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा ३३ जनासहित ७६ जनामा संक्रमण देखिएसँगै एक हजार बढी संक्रमित सुदूरपश्चिमममा पुगेका हुन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १३८ जनाले कोरोना जितेर घर फर्किएका छन् । १०६ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये कैलालीका २६८ कञ्चनपुरका ९९ अछामका, ६० डडेल्धुराका १८६ दार्चुलाका १२ जना छन् । बझाङका १८, बैतडीका १४३, डोटीका १५० र बाजुराका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख ३ हजार १ सय ४९ जनाको परीक्षण गरिएको छ भने १७ हजार ७ सय २३ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशभर ३३ हजार १ सय ९२ जना क्वारेन्टिनमा छन् । उनीहरु सबैजसो भारतबाटै आएका हुन् ।

प्रतिक्रिया