संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका दुई जनामा पनि देखियो कोरोना

आइबार बिहान थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप पुष्टि भएका व्यक्ति गएको शुक्रबार संक्रमित भएका स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका व्यक्ति भएको पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

थपिएका संक्रमित स्वास्थ्यकर्मीसँगको सम्पर्कमा आएका व्यक्ति भएको र कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब पठाइएकोमा संक्रमण पुष्टि भएको थियो । उनीहरु कुस्मा नगरपालिकाका २७ र ३२ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमितमध्ये एकजना सर्वसाधरण र एकजना अस्पतालमा कार्यरत नभए पनि स्वास्थ्यकर्मी नै रहेको बताइएको छ । उनीहरु स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेका व्यक्ति भएको जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत तथा सिसिएमसी पर्वतका प्रवक्ता प्रबिण भण्डारीले स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरिएका २ जनामा पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिए । संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि पर्वत अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसहित सर्वसाधरणको समेत गरी ८१ नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

त्यसमध्ये २७ जनाको परीक्षण भएको छ भने ५४ जनाको रिर्पोट आउन बाँकी छ ।सर्वसाधरणमा पनि कोरोना संक्रमण देखिएपछि समुदायमा संक्रमण भएको देखिएको छ ।

यसअघि ५ जना स्वास्थ्यकर्मीसहित ४३ जनामा संक्रमण पुष्टि भएको थियो । ८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने एकजनाको पोखरामा र बाँकी २९ जनाको पर्वत अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ । संक्रमित स्वास्थ्यकर्मीको हकमा भने आइसोलेसनको टुंगो लाग्न बाँकी रहेको छ । उनीहरु अहिले पनि अस्पतालकै आवास गृहमा रहेका छन् ।

प्रतिक्रिया