पीसीआर रिपोर्ट नआउँदै घर गएका १७ जनामा कोरोना पोजेटिभ

दाङ । पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका घोराही उपमहानगरपालकिा दाङका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।

घोराही उपमहानगरपालिका १७ का १७ जनाको रिपोर्ट पोजेटिभ आएपछि समुदाय त्रसित बनेको स्थानीय शिशिर आचार्यले जानकारी दिए । चौघेरा क्‍वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो ।

उनीहरुमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । चौघेरा क्‍वारेन्टिनमा बसेका कुल ३५ जनाको जेठ २१ गते पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको थियो । तर, रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको वडा सदस्य तुलप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार वडा नं. १७ कै प्रावि क्‍वाडीबाट घर पठाइएका थप ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । घर पठाइएका १६ जना मध्ये १३ जनाको रिपोर्ट आइतबार पोजेटिभ आएको वडा सदस्य घिमिरेले बताए । रिपोर्ट पोजेटिभ आएकाहरु जेठ ७, ८ र ९ गते भारतबाट आएकाहरु भएको घिमिरेले जानकारी दिए । १३ जना संक्रमित मध्ये १२ पुरुष र एकजना महिला पनि रहेको उनले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा आइतबार नै घर पठाइएका १७ जनामा संक्रमण पुष्टि भए पनि त्यो कुरा सर्वाजनिक भने गरिएको छैन ।

तर, वडा कार्यालयलाई संक्रमितको व्यवस्थापनका लागि आइतबार नै जानकारी दिइएको हुँदा आफूहरुले रातभर काम गरेर उनीहरुलाई आइसोलेसनमा पठाएको वडा सदस्य घिमिरेले जानकारी दिए । यसैबीच सोमबार घोराही १७ चौघेराका सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका छन् ।

प्रतिक्रिया