तीर्थराज जोशी
पहाडी वनपाखामा यूवाको सपना फुलोस् ।
नदीको जलझैँ ऊर्जा जिन्दगी कर्ममा झुलोस् ।।
हिमाली टाकुरा हेर्ने यी आँखाहरु सुन्दर ।
फूलमा जिन्दगी खोज्छु मेरो नेपाल हो घर ।।
१
वेगनास घुमी हिँड्दै रारामा म रमाउँला।
फेवामा पौडिँदै गर्दा माछापुच्छ्रे समाउँला।।
अन्नपूर्ण नियालेर गौरीशंकर माथमा ।
हिमाली दिव्यमालामा हिँडूँ सौन्दर्य साथमा ।।
२
झूठका बिरुवा जम्मै उखेलेर हटाउने ।
कर्मको थालनी गर्दै हातेमालो बढाउने ।।
जलसिञ्चनले सारा वनपाखा हराभरा ।
खेत बाँझो नराखेर अन्नले भरियून् गरा ।।
३
हिमाल शिर हो मेरो तराई तनको मन ।
पहाड पाखुरी मेरा सिंगो नेपाल हो धन ।।
नेपालीत्व सधैँ जागोस् हिजो, भोलि र आजमा
कानुनी राज्यको आँखा पुगोस् दूर दराजमा
४
पुगूँ खप्तडको मेला डेउडामा रमाउन ।
मारुनी नृत्यमा रम्दै सेलो भाका समाउन ।।
रम्छु ल्होसारमा साँच्चै माघीमा गीत गाउँछु ।
सोरठीमा रमाएर रोदीमा प्रित लाउँछु ।।
५
यूवाका पौरखी हात श्रमको पसिना फलोस् ।
शब्दमा हैन नेताको चेतनामा दियो जलोस् ।।
अभाव नरहोस् कैल्यै गाँस, बास, कपासको ।
लोकतन्त्र बनोस् सच्चा नबनोस् उपहासको ।।
६
दिनहूँ लाम लागेर साउदी र कतारमा ।
जाने छैनन् यूवा वर्ग देश छोडी हतारमा ।।
श्रमको बिरुवा रोपी रुखमै रुपियाँ फलून् ।
सबैका पौरखी हात देश निर्माणमै चलून् ।।
७
ढिँडो गुन्द्रुक खाएर विदेशी नाच छमछमी ।
गर्न खोजे सबै हुन्छ देशमा छैन क्यै कमी ।।
शिक्षाको दीप बालेर अन्धकार पुरै हटोस् ।
आँखाको नानी नेपाल शान्त, स्निग्ध, पवित्र होस् ।।
८
जुम्लाको स्याउ खाएर काठमाडौं अघाउने ।
चिया इलामको बोकी गुल्मी, पाल्पा रमाउने ।।
गोर्खाको सुन्तलासँगै बाराले गीत गाउने ।
मेची, काली समेटेर देश यो मुस्कुराउने ।।
९
भेदभाव नहोस् कैल्यै सुदूर दूरका कुरा ।
शिरमा मालिका बोकी हाँसोस् पश्चिम बाजुरा ।।
समाचार नहोस् कैल्यै रोग, भोक र शोकको ।
लोकतन्त्र नहोस् पेवा यो बनोस् पूर्ण लोकको ।।
१०
कृषिमा क्रान्ति ल्याएर धर्ती उर्वर पार्नु छ ।
देशको उन्नति रोक्ने भ्रष्टाचार बढार्नु छ ।।
स्वावलम्बी बनी बाँच्ने छ है स्वाधीन भावना ।
देश उद्योग धन्दाको यही हो जनचाहना ।।
११
सुस्तामा घाउ लागेमा पुस्ता उठ्छ र जाग्दछ ।
यही नेपाल खोज्दै छु बल्ल समृद्ध लाग्दछ ।।
बुद्धको लुम्बिनीबाटै शान्तिको गीत गाउँछु ।
बन्छ समृद्ध नेपाल सपना यो सजाउँछु ।।
१२