कोशीको लगानी सम्मेलनमा १ खर्ब २९ अर्बका योजना


काठमाडौं– आगामी वैशाखमा हुने कोशी प्रदेश लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कोशी प्रदेश लगानी प्राधिकरणले जनाएको छ ।   प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार लगानी सम्मेलनका लागि इभेन्ट म्यानेजरसँग सम्झौता भइसकेको छ । यस्तै सम्मेलनमा सहभागी हुन स्वदेशी लगानीकर्ता, एनआरएन र विदेशी लगानीकर्तालाई समेत निमन्त्रणा गरिसकिएको छ । लगानी सम्मेलनमा स्वदेश र विदेशबाट गरी ५ सयभन्दा बढी लगानीकर्ता विराटनगर आउने प्राधिकरणले जनाएको छ ।  


 लगानी सम्मेलनमा सहभागी हुन आउनेहरूका लागि आवासलगायत आवश्यक व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको कोइरालाले बताए ।  लगानी सम्मेलनका लागि ५४ वटा आयोजनाहरू शोकेसमा राख्ने तयारी पुरा गरिसकिएको कोइरालाले बताए  । यस्तै अन्य केही आयोजनाहरू पनि समावेश गर्ने तयारी गरिएको छ । लगानी सम्मेलनका लागि १ खर्ब २९ अर्ब ५० करोडका योजना शोकेस गरिएका छन् ।   प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबाट १ खर्ब बढी लगानी प्रदेशमा भित्राउने लक्ष्य राखिएको कार्यकारी निर्देशन कोइरालाको भनाई छ । ‘लगानी सम्मेलनबाट १ खर्ब बढी लगानी कोशी प्रदेशका विभिन्न आयोजनामा आउने लक्ष राखिएको छ’ कोइरालाले भने ।  
कोशी प्रदेश लगानी सम्मेलन आउँदो वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गरिंदैछ । लगानी सम्मेलनको मूल उद्देश्य कोशी प्रदेशमा सम्भाव्य परियोजनाहरु लगानी सम्मेलनमा देखाएर लगानीकर्ता र विकासकर्ता खोज्नुका साथै अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने रहेको छ  ।  


लगानी सम्मेलनमा पर्यटन, उद्योग, कृषि, पूर्वाधारलगायत ७ क्षेत्रका आयोजनाहरू समावेश गरिने छन्  । प्रदेश लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने प्रदेश लगानी प्राधिकरणले जनाएको छ । लगानी सम्मेलनमा सहभागि हुन ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिसकिएको जनाइएको छ ।
कोशी प्रदेश सरकार गठन भए देखि नै लगानी सम्मेलन गर्ने चर्चा चले पनि विभिन्न कारण देखाउँदै सम्मेलनमा ढीलाई हुँदै आएको थियो । लगानीकर्ताका लागि आकर्षक प्रतिफल दिने किसिमका आयोजनाहरू पनि प्रदेश सरकारले शोकेसमा राखेका कारण  आगामी बैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलन प्रदेशको विकासका लागि महत्वपूर्ण हुने सरकारले दाबी गर्दै आएको छ । 

लगानी सम्मेलनमा कांकडभिट्टा बसपार्क, इलामको कन्याममा मोनोरेल, केवलकार, खोटाङको हलेसीमा केवलकार, साइन्स सेन्टर, विराटनगरमा बहुउद्देश्यीय भवन लगायतका आयोजनाहरूलाई लगानी सम्मेलनमा प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ ।
 

प्रतिक्रिया