आइएमई २६औँ वर्षमा, डिजिटल वित्तीय सेवामा थप विस्तारको प्रतिबद्धता

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो स्थापनाको २६औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।

उनले वैदेशिक रोजगारीका क्रममा प्राप्त अनुभवबाट सुरु भएको सानो अवधारणा आज रेमिटेन्स सेवाभन्दा अघि बढेर समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको महत्वपूर्ण अंग बन्न सफल भएको उल्लेख गरे। दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आर्थिक समावेशिता र सामाजिक–आर्थिक रूपान्तरणमा आइएमईले महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो।

अध्यक्ष ढकालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङजस्ता प्रविधिको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै नवीनतम प्रविधिको प्रयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ सुरक्षित, प्रभावकारी र छिटो बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा आइएमई ग्रुपका संस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ र ‘आइएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापित हुनु गौरवको विषय भएको बताए। उनले रेमिटेन्सलाई औपचारिक माध्यमबाट भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग सहकार्य जारी रहने बताए।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य–मान्यतालाई केन्द्रमा राखेर कम्पनीले सेवा प्रवाह गरिरहेको बताए। उनले प्रविधिमैत्री तथा विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग अझ नजिकिँदै जाने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा आइएमईले आफ्नो नयाँ लोगोसमेत सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ लोगोले आइएमईको विस्तारित वित्तीय सेवा तथा भविष्यको व्यावसायिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ।

वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको थियो। साथै, लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीलाई विशेष सम्मान गरिएको थियो।

समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया