काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रहरूमा वर्षाको सम्भावना

काठमाडौं । भारतमा विकसित न्यूनचापीय प्रणाली तथा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा आज बदली भएको छ। कोशी प्रदेश हुँदै प्रवेश गरेको उक्त प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरूमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज अपराह्नदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ। उनका अनुसार बुधबारको तुलनामा मंगलबार कम र बुधबार अलि बढी वर्षा हुने देखिएको छ। ‘पूर्वदेखि पश्चिमसम्म पहाडी क्षेत्रमा मंगलबार छिटपुट र बुधबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,’ मौसमविद् दाहालले भने।

यस प्रणालीको प्रभाव बिहीबारसम्म रहने अनुमान गरिएको छ। पूर्वी भूभागमा यसको असर बढी देखिने भए पनि पश्चिमतर्फ असर कम रहने मौसम विभागको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना पनि छ।

लामो समयदेखि वर्षा नपरेका कारण देशका धेरै स्थानमा सुख्खा, आगलागी र वायु प्रदूषणको समस्या देखिएको छ। मौसमविद् दाहालका अनुसार पानी पर्दा वातावरणमा रहेका धुलो र धुवाँका कणहरू पखालिने भएकाले प्रदूषणमा केही राहत मिल्नेछ।

प्रतिक्रिया