उदयपुरमा लकडाउन खुकुलो बनाइँदै

उदयपुर — उदयपुरमा लकडाउन खुकुलो बनाइने भएको छ । आइतबारको समन्वय बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

बैठकले उदयपुर जिल्ला अझै कोरोना भाइरसको उच्च जोखिममा रहेको ठहर पनि गरेको छ ।
कोरोना संक्रमण, नियन्त्रण र रोकथामका लागि पीसीआर विधिबाट हुने नमूना परीक्षणको दायरा बढाउन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले लकडाउनका कारण दैनिक उपभोग्य बस्तु खरिद तथा बिक्रीमा कठिनाई भएको, आउजाउमासमस्या र बिरामीलाई औषधि उपचारको समस्या परेको भन्दै लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो ।

बैठकमा उपस्थित स्थानीय तहका प्रमुखले लकडाउन खुकुलो बनाउन दवाब दिएको बैठकमा सहभागी एक सदस्यले बताए । ‘थप राहत बाँड्न नसक्ने भन्दै स्थानीयले खुकुलो बनाउन माग गरे’ उनले भने,‘स्थानीय तहले राहातको विकल्पमा लकडाउन खुकुलो बनाउन बैठकमै सुझाए ।’

बैठकले ‘नागरिकको दैनिक जनजीवनमा प्रभाव परिरहेको हुनाले नेपाल सरकार र प्रदेश सरकारको निर्णय तथा आदेशहरुको समेत पालना गर्ने गरी नागरिकको दैनिक जीवनलाई सामान्यकरण गर्न स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने उल्लेख गरेको छ ।

भुल्केमा कोरोना सक्रमितको संख्या थपिने क्रम रोकिएको छैन । शनिबारमात्रै ४ महिलामा कोरोना पोजिटिभ भेटिएको हो । तर कोरोना संक्रमित भेटिने क्रममा नरोकिदै प्रदेश सांसद, स्थानीय तहका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायको उपस्थितिमा बसेको बैठकले नागरिकको आर्थिक तथा सामाजिक जीवनलाई सहज बनाउने भन्दै लकडाउनलाई खुकुलो बनाउने संकेत गरेको हो ।

बैठकले जिल्लामा संचालित राष्ट्रिय र प्रादेशिक गौरवका आयोजना कार्यन्वयनका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराउन स्थानीय प्रशासनले समन्वय गर्ने निर्णय गरेको छ । विकास निर्माणका काममा आवश्यक पर्ने नदिजन्य सामग्री स्थानीय तहले नियमानुसार उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको हो ।

लकडाउनमा विकास निर्माणको कार्य गर्नका लागि ई–पास झन्झिटिलो भएको निश्कर्षसहित उनीहरुले स्थानीय तहकै सिफारिसमा जिल्ला र इलाका प्रशासनले वैकल्पिक पास उपलब्ध गराउने निर्णय गरेका हुन् ।

प्रतिक्रिया