लिपुलेकबारे भारतको विरोध गर्दै नेकपाले निकाल्यो विज्ञप्ति

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली भूमिमा भारतले सडक बनाएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ ।

उक्त घटनाले नेपालको सार्वभौमसत्ताको अवमुल्यन भएको नेकपाले जनाएको छ । भारत सरकारले शुक्रबार मात्रै नेपाली भूमि हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेको थियो ।

भारतको उक्त गतिविधिको विरोधमा नेपाल सरकारले शनिबार दिउँसो नै विज्ञप्ति जारी गरेको थियो । सत्तारुढ दल नेकपाले शनिबार साँझ अर्को विज्ञप्ति जारी गर्दै भारत सरकारको गतिविधिमा आपत्ति जनाएका हुन् ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरिएको थियो । कोभिड १९ महामारीका कारण विश्व मानवजातिले नै स्वास्थ्य संकट व्यहोरिरहेका बेला भारतको गतिविधिले निराश बनाएको विज्ञप्तिमा उल्लेख छ ।

साथै सुगौली सन्धि सहित ऐतिहासिक कागजातले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमिमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै नेकपाले सीमा मुद्दालाई कुटनीतिक माध्यमबाट समाधान गर्न आफूहरु तयार रहेको जनाएको छ ।

शनिबार दिउँसो नै नेकपाको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी नेताहरुले काठमाडौँस्थित भारतीय दूतावास अगाडि गएर भारत सरकारको गतिविधिको विरोध प्रदर्शन गरेका थिए । नेपाल सरकारको विज्ञप्तिपछि लगत्तै भारतको विदेश मन्त्रालयले भने लिपुलेक खण्डको सडक भारतले आफ्नै भूमिमा बनाएको दावी गरेको छ ।

प्रतिक्रिया