राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ पिरियड’ विवादपछि मंगलबार रोष्टममै भावुक हुँदै पदबाट राजीनामा दिएका छन्।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन लेख्ने क्रममा त्रुटि भएको आरोप लागेपछि बनेको छानबिन समितिले उनलाई राजनीतिक र नैतिक रूपमा जिम्मेवार ठहराएको थियो। छानबिन प्रतिवेदनमा सभापतिको समन्वयकारी भूमिकामा कमी भएको उल्लेख छ।

खतिवडाले आफू इमान्दार जनप्रतिनिधि भएको दाबी गर्दै, विधेयकमाथि बाहिरी चलखेल भएको आरोप लगाए। “पदलाई भन्दा प्रश्नलाई माथि राखेर हाँसीहाँसी राजीनामा दिएको हुँ,” उनले भने।

उक्त विधेयकमा उच्च पदस्थ कर्मचारीका लागि तोकिएको २ वर्षे ‘कुलिङ पिरियड’ निष्प्रभावी हुने गरी प्रतिवेदन तयार पारिएको आरोप थियो। नेपाली कांग्रेसभित्र पनि उनीमाथि दबाब बढेपछि सभापति शेरबहादुर देउवाको आग्रहमा उनले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय