बैंकिङ प्रणालीमा तरलता नियन्त्रण: राष्ट्र बैंकले ५५ अर्ब २५ करोड निक्षेप संकलन

नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन बोलकबोल उपकरणमार्फत ५५ अर्ब २५ करोड रुपैयाँ बजारबाट खिचेको छ। बैंकिङ क्षेत्रमा तरलता अत्यधिक भएकाले राष्ट्र बैंकले यो कदम उठाएको हो।

यसका लागि राष्ट्र बैंकले २१ दिनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलनको बोलकबोल आह्वान गरेको थियो। यसमा १४ वटा बैंक तथा वित्तीय संस्थाले सहभागी जनाउँदै १५ प्रस्ताव पेश गरेका थिए। तर, बैंकहरूले जम्मा ५५ अर्ब २५ करोडको मात्र आवेदन दिएका थिए, जुन राष्ट्र बैंकले पूरै स्वीकृत गरेको हो।

बोलकबोलको क्रममा बैंकहरूले न्यूनतम २.९८ प्रतिशत र अधिकतम ३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए। राष्ट्र बैंकले भारित औसत ब्याजदर २.९९७८ प्रतिशतमा रकम संकलन गरेको छ। संकलित रकम २१ दिनपछि, अर्थात् माघ २७ गते, सावाँ र ब्याजसहित फिर्ता गरिनेछ।

निक्षेप संकलन उपकरण बैंकिङ क्षेत्रमा अधिक तरलता व्यवस्थापन गर्न प्रयोग गरिने एक महत्वपूर्ण विधि हो। यसले बैंक तथा वित्तीय संस्थाबाट निश्चित ब्याजदरमा निक्षेप सङ्कलन गर्ने काम गर्दछ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्रै सहभागी हुन पाउँछन्।

निक्षेप संकलन गरिने रकम अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नमिल्ने भए पनि यो रकम तरलता अनुपात (Liquidity Ratio) र वैधानिक तरलता अनुपात (SLR) मा गणना गर्न सकिने व्यवस्था छ। यस उपकरणको प्रयोगले बैंकिङ क्षेत्रमा स्थायित्व र तरलताको सन्तुलन कायम गर्न सहयोग गर्दछ।

प्रतिक्रिया