काठमाडौं । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा बादल लागेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान र अन्य तराई क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम प्रायः सफा रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्र र कोशी–गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ।
साथै, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना कायम रहने महाशाखाको भनाइ छ।