चितवन । सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको सरुवा गरिएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ठगी मुद्दामा मात्र प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको आरोपपछि उनलाई सरुवा गरिएको हो।
‘मेरो सरुवा भएको छ। विषय साहारा सहकारी मुद्दासँगै जोडिएको हो,’ लुइँटेलले नागरिक दैनिकसँग संक्षिप्त प्रतिक्रिया दिएका छन्।
सोमबार चितवन जिल्ला अदालतमा रवि लामिछानेसहित २० जनाविरुद्ध ठगी र १२ जनाविरुद्ध संगठित अपराध मुद्दा दर्ता गरिएको थियो। तर, छवि जोशीलाई संगठित अपराध मुद्दामा समेट्दा पनि लामिछानेलाई ठगी मुद्दामा मात्र राखिएको थियो।
प्रहरीले संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले लामिछानेलाई ठगी मुद्दामै सीमित राखेको थियो। ‘एकभन्दा बढी संस्थामा आवद्ध व्यक्तिहरूलाई संगठित अपराध मुद्दा लगाइएको थियो। तर, लामिछाने एउटा मात्र संस्थामा संलग्न देखिएकाले उनको मुद्दा ठगीमा मात्र पर्यो,’ लुइँटेलले बताएका छन्।
चितवनमा १५ महिना कार्यरत रहेका लुइँटेलको सरुवा काठमाडौं गरिएको छ। उनको स्थानमा बुटवलबाट रवि न्यौपाने आउने भएका छन्। Nagarik daily